२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा बन्यो ८० किलो १० फिट अग्लो खुकुरी



अ+ अ-

कमल खत्री बेनी । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका हुन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए ।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको छ । उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन् । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिए । महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ ।

“तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भने । उनका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए ।

पुख्र्यौलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन्। उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।