१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

छ महिनामै कालोपत्र उत्रियो

छ महिनामै कालोपत्र उत्रियो
अ अ+ अ-

दीपक बोहरा, दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ ।

कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भन्नुभयो, “जाडो मौसममा कालोपत्र गर्दा त्यो दिगो हुँदैन, पुनः उप्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरुले काम शुरु गर्छन् ।”

उक्त सडकखण्डको साइपुर–जहदागाउँ खण्डमा यस्तो समस्या देखिएको छ । गएको आवको अन्तिमतिर उक्त सडकको कालोपत्र निर्माणको काम पूरा भएको हो । तर छ महिना नपुग्दै विभिन्न स्थानमा उप्किएको तथा चर्किएको छ । प्रदेश नं ५ सरकारको करिब रु दुई करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्र गरिएको हो । हेमन्तपुर–मानपुर–टरिगाउँ सडकखण्डलाई तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको थियो । फरक–फरक तीन निर्माण कम्पनीले उक्त सडकखण्डमा कालोपत्र गरेका थिए ।

तीमध्ये झरना निर्माण सेवाले कालोपत्र गरेको स्थानमा त्यस्तो समस्या देखिएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सोही निर्माण कम्पनीलाई उप्केको तथा चर्किएको स्थानमा पुनः कालोपत्र गर्न पत्र गरिएको छ । कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षसम्म बिग्रिएको, भत्किएको अवस्थामा पुनः मर्मत गर्नुपर्ने भन्दै सोहीअनुसार उक्त कम्पनीलाई मर्मतका लागि पत्र पठाइसकेको उहाँको भनाइ थियो । “कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षभित्र बिग्रियो, भत्कियो भने पुनःनिर्माण गरिदिनुपर्छ”, उहाँले भन्नुभयो, “अन्यथा उनीहरुको धरौटी जफत हुन्छ ।”

यो नियतवशभन्दा पनि प्राविधिक त्रुटि भएको भन्दै यसलाई निर्माण कम्पनीले तुरुन्त ममर्त गर्नुपर्ने इञ्जिनीयर चन्द्र शाहले बताउनुभयो । “यो धेरै ठूलो कम्जोरी होइन, सबै ठाउँमा शतप्रतिशत राम्रो हुन्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “केही समस्या पक्कै भएको छ, यसमा निर्माण व्यवसायीले गल्ती स्वीकार गरेर पुनः मर्मत गर्नुपर्छ ।”

उक्त सडकको छेउतिर बढी ‘फिलिङ’ भएकाले पनि चर्किएको हुनसक्ने उहाँको भनाइ छ । “उक्त सडकमा कालोपत्र गर्दा फिलिङ थियो”, उहाँले भन्नुभयो, “फिलिङ बढी भए पनि यसरी कालोपत्र चर्किने, उत्रिने हुन्छ, यो जानाजान गरिएको गल्ती हो जस्तो लाग्दैन ।”

अर्कोतर्फ उक्त सडकमा १८÷२० टनका सवारी हिँड्नसक्ने क्षमता भएको भए पनि ४०÷५० टन क्षमता भएका टिपर चल्दा यस्तो समस्या भएको हुनसक्ने उहाँले बताउनुभयो । त्यस्तै पर्खाल नहुँदा पनि यसरी कालोपत्र उप्किएर जाने गरेको उहाँको भनाइ छ । सोही सडकमा छ मिटर कालोपत्र गरिएको थियो । कालोपत्रको जिम्मा डेरी निर्माण सेवा, झरना निर्माण सेवा र चाँदनी निर्माण सेवाले लिएका थिए । अहिले सडकको कालोपत्र उत्रिएको कल्भर्ट तथा नाला भएको स्थानमा सम्बन्धित निर्माण कम्पनीले ग्राभेल हालेर टालटुल पारेका छन् ।

यसअघि पनि झरना निर्माण सेवाले जिम्मा लिएको तुलसीपुरको दुधरास–सक्राम–छिल्लीकोट सडकखण्डमा ग्राभेलको सट्टा हिलो माटो हालेपछि स्थानीयवासीले व्यापक विरोध गरेका थिए ।

यस्तै प्रदेश नं ५ ले छुट्याएका योजना कुन कार्यालयले हेर्ने भन्ने पनि अन्योल छ । केही योजना प्यूठानस्थित प्रदेश सडक डिभिजन कार्यालयले हेर्दै आएको छ भने केही योजना पूर्वाधार विकास कार्यालय दाङले हेर्दै आएको छ । “प्रदेशले हामीलाई जुन योजना हेर्न भनी जिम्मा दिन्छ, ती योजना हेर्दै आएका छौँ”, इञ्जिनीयर शाहले भन्नुभयो, “केही प्यूठानले हेर्दै आएको छ, केही दाङले हेर्दै आएको छ ।” यसले दाङका प्रदेशस्तरीय अन्य सडक निर्माणको समेत प्रभावकारी निगरानी हुनसकेको छैन ।