मस्कट। यमनका इरान–समर्थित हुथी विद्रोही र यमनी सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति भएको छ । यस आदान–प्रदानमा सात जना साउदी नागरिक पनि समावेश रहेका छन् ।
छिमेकी देश ओमानको राजधानी मस्कटमा करिब दुई सातासम्म चलेको वार्तापछि यो सहमति भएको हो । एक दशकभन्दा बढी समयदेखि जारी यमन द्वन्द्व समाधानका लागि ओमानले निरन्तर मध्यस्थको भूमिका खेल्दै आएको छ ।
कैदी आदान–प्रदान वार्तामा सरकार पक्षका प्रतिनिधि माजेद फधाइलका अनुसार दुवै पक्षबीच हजारौँ युद्धबन्दी रिहा गर्ने सहमति भएको हो ।
हुथी पक्षका प्रतिनिधि अब्दुलकादेर अल–मोर्तादाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आफ्ना एक हजार ७०० कैदीको सट्टामा सरकार पक्षका एक हजार २०० कैदी रिहा गरिने जानकारी दिएका छन् ।
तीमध्ये सात जना साउदी र २३ जना सुडानी नागरिक रहेका छन् ।सरकारी प्रतिनिधि फधाइलका अनुसार सात साउदीमध्ये दुई जना साउदी वायुसेनाका पाइलट हुन् ।
संयुक्त राष्ट्रसङ्घका यमनका विशेष दूत हान्स ग्रुन्डबर्गले यस सहमतालाई यमनभर रहेका बन्दी र तिनका परिवारको पीडा कम गर्न सहयोग पु¥याउने सकारात्मक र अर्थपूर्ण कदम भन्दै स्वागत गर्नुभएको छ ।
उहाँले सहमतिको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षहरूको निरन्तर सहकार्य, क्षेत्रीय समर्थन र थप बन्दी रिहाइका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो । (रासस/एएफपी)










