२७ श्रावण २०८३, बुधबार
,
Latest
बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता सक्षम र इमान्दार कानून व्यवसायी बिना न्यायपालिकाले प्रभावकारी काम गर्न सक्दैनः प्रधानन्यायाधीश शर्मा सक्षम र मर्यादित कनून व्यवसायमार्फत विधिको शासन सृदृढ गर्छौंः महान्यायाधिवक्ता डा. कँडेल संसदीय समितिमा प्रहरी महानिरीक्षकको असन्तुष्टिः ‘संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्’ कारागार तथा बाल सुधार गृहहरुलाई दण्डात्मक संस्था नभई पुनःस्थापना केन्द्रका रुपमा विकास गर्न संसदीय उपसमितिको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागार तथा बाल सुधार गृहहरुलाई दण्डात्मक संस्था नभई पुनःस्थापना केन्द्रका रुपमा विकास गर्न संसदीय उपसमितिको सुझाव



अ+ अ-

काठमाडौँ। कानून, न्याय तथा मानव अधिकार समितिको देशभरका कारागार तथा बाल सुधार गृहहरूको निरीक्षण गर्न गठित संसदीय उपसमितिले कारागारलाई दण्डात्मक संस्थाभन्दा सुधार गृह वा पुनस्र्थापना केन्द्रको रुपमा विकास गर्न सुझाव दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सचिव रामहरी थापाले उपसमितिको प्रतिवेदन प्रश्तुत गर्दै यस्तो सुझाव दिइएको बताउनुभएको हो ।

कानून समितिले गत ११ जेठ गते देशभरका कारागार तथा बाल सुधार गृहहरूको निरीक्षण गर्ने गरी नेपाली काँग्रेसकी सांसद नीनु कुमारी कर्णको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सचिव थापाले कारागार तथा प्रहरी हिरासतमा हुने यातना, दुव्र्यवहार र अमानवीय व्यवहारप्रति शुन्य सहनशीलताको नीति अवलम्बन समेत सिफारिस गरेको छ ।

उहाँकाअनुसार उपसमितिले कारागार ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन प्रणाली विकास गर्नुका साथै संयुक्त राष्ट्रसंघको नेल्सन मण्डेला नियमसहित अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मापदण्डलाई राष्ट्रिय नीति र कानुनसँग सामञ्जस्य गर्न समेत सुझाव दिएको छ ।

उहाँले कारागारको चाप घटाउन खुला कारागार, प्यारोल र सामुदायिक सेवासम्बन्धी कानूनी व्यवस्था शीघ्र कार्यान्वयन गर्न तथा पूर्वपरीक्षण थुनालाई अन्तिम विकल्पका रूपमा प्रयोग गर्दै धरौटी, व्यक्तिगत जमानीलगायत वैकल्पिक उपायको प्रयोग बढाउन समेत आग्रह गरेको छ ।

संसदीय उपुमितिले आर्थिक रूपमा कमजोर थुनुवा तथा कैदीबन्दीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउन, अदालत तथा हिरासत तहमा पर्याप्त वैतनिक कानुनी प्रतिनिधिको व्यवस्था गर्न र गम्भीर अपराधमा संलग्न, लागूऔषध प्रयोगकर्ता, पहिलोपटक कसूर गर्ने तथा ज्येष्ठ अशक्त कैदीबन्दीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्न समेत सुझाव दिएको सचिव थापाले बताउनु भयो ।

कारागारमा पर्याप्त हावा र घामको व्यवस्था, खानेपानी तथा शौचालयको सरसफाइ, औपचारिक तथा उच्च शिक्षामा पहुँच, सीपमूलक तालिम, आयआर्जन र रिहाइपछिको पुनस्र्थापनाका कार्यक्रम समेत उपसमितिले सुझाव दिएको उहाँको भनाइ छ ।

अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रमाणमा आधारित बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सेवा प्रदेश तहसम्म विस्तार गर्न तथा डीएनए, डिजिटल फरेन्सिक, विष विज्ञान, औँठाछाप तथा साइबर फरेन्सिक सेवाको क्षमता बढाउन समेत आग्रह गरेको छ ।

उहाँले उपसमितिले गृह मन्त्रालयको नेतृत्वमा कारागार, प्रहरी, सरकारी वकिल, स्थानीय तह र राष्ट्रिय मानव अधिकार आयोगबीच नियमित समन्वय संयन्त्र बनाउन तथा कैदीबन्दीका गुनासा सुनुवाइका लागि स्वतन्त्र, गोप्य र प्रभावकारी प्रणाली स्थापना गर्न समेत आग्रह गरेको छ ।

संसदीय उपसमितिको प्रतिवेदन प्रश्तुत गर्दै उहाँले भन्नुभयो, ‘हिरासत तथा कारागार दुवैतर्फ गम्भीर अपराधका कसूरदार, लागूऔषध प्रयोगकर्ता, पहिलो पटक कसूर गर्ने व्यक्ति र उमेर बढी भएका अशक्त व्यक्तिहरूलाई छुट्टाछुट्टै कक्षमा राख्ने प्रबन्ध गरिनुपर्ने, महिला थुनुवा वा कैदीहरूसँग आउने आश्रित बालबालिकाका लागि काठमाडौं परिसर लगायत प्रमुख प्रहरी परिसरहरूमा व्यवस्थित चाइल्ड केयर होम र बाल निगरानी कक्षको व्यवस्था मिलाउनुपर्ने, सबै कारागार र प्रहरी हिरासतका भवन, शौचालय र खानेपानीका पहुँच स्थलहरूलाई फरक क्षमतामैत्री बनाउनुपर्ने, केन्द्रीय कारागार जगन्नाथदेवल र मोरङ कारागार जस्ता क्षमताभन्दा दोब्बर चाप भएका स्थानहरूबाट बन्दीहरूलाई नयाँ सुरक्षित र फराकिलो कारागारहरूमा स्थानान्तरण गर्न आवश्यक कारागार भवनहरूको निर्माण गरिनुपर्ने, खानपिन, सरसफाइ र भेन्टिलेसनमा सुधारस् प्रहरी हिरासत र कारागार कक्षहरूमा पर्याप्त हावा र घाम छिर्ने भेन्टिलेटरको व्यवस्था गर्ने र खानेपानी तथा शौचालयको नियमित सरसफाइ कायम राख्न थप साधन र बजेट व्यवस्था गरिनुपर्ने सुझाव तथा सिफारिस गरिएको छ ।’

संसदीय उपसमितिले बाल सुधार गृहहरूमा गुणस्तरीय औपचारिक शिक्षाको सुनिश्चितता गर्न समेत सरकारलाई सुझाव दिएको छ । –न्युज एजेन्सी नेपाल