काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सापकोटाले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताउनुभयो । जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘हामी यस्तो प्रणाली भित्र छौँ कि कहाँ कसरी शासक शासनमा गयो । जनप्रतिनिधिलाई पु¥यायो भने रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटिङ फेसिलिटी लिएको होइन ।’
ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधान नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘मलाई त्यसको चिन्ता छैन । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन ।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताउनुभयो ।
विवादकाे घेरामा सापकाेटाकाे पुस्तक
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालकाे कार्यकाल समाप्त हुन लागेकाले नेपाल सरकारले चाँडै नयाँ गभर्नरकाे नियुक्ति गर्दैछ । हाल डेपुटी गभर्नरका रूपमा बैंकमा डा चिन्तामणी सापकाेटा र शिवराज श्रेष्ठ रहेका छन् । पछिल्लाे समय शिवराज श्रेष्ठ विभिन्न बैंकिङ विवादमा तानिएकाे अवस्थामा सापकाेटाले नयाँ पुस्तक लेखेर प्रधानमन्त्रीबाटै विमाेचन गराएका छन् । गभर्नरकाे छनाैटकै पूर्वसन्ध्यामा पुस्तक विमाेचन गराउन सफल भएकाे भन्दै भावी गभर्नरमा सापकाेटा नै नियुक्त हुने सम्भावना रहेकाे बताइन्छ । उनलाइ अर्थमन्त्री डा युवराज खतिवडाकाे पनि समर्थन रहेकाे बताइन्छ ।