७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम



अ+ अ-

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ ।

सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम छ । एकले अर्कोलाई देखेपछिको आकर्षण छ । सुन्दरताले मोहित पारेको कथा गीतमा छ । युवकको हेराईले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ । यो गीतले चलचित्रमा त्रिकोणात्मक प्रेम कथा पनि रहेको संकेत गरेको छ, जुन यो चलचित्रको टिजरमा पनि देखिएको छ ।

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर दर्शकले रुचाएका थिए । टिजरमा बाबा र छोरीबीचको इमोस्नल सिन समेटिएको थियो । जहाँ मुख्य तीन पात्रको सम्बन्ध र नोकझोक पनि देखिएको थियो ।

‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।