२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति



अ+ अ-

काठमाडौं । अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् ।

विगत २० वर्ष पहिले सुरु भएको पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् ।

डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छिन् । अभिज्ञा घिमिरे विगत एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ-शिल्पी हुन् ।

यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफै गीत लेखनमा क्रियाशील कलाकार हुन् । तर उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । साथै अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।

नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुनहरू समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।

यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरु अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी; गीतकारहरु कालीप्रसाद रिजाल, मञ्जुल, वूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचनाहरू रहेका छन् ।

पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि रहेका छन् ।

आभास भन्छन्- ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’ उनी थप्छन्- ‘संगीतमा सर्जकको मात्र होइन श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ । मलाई विश्वास छ सधैँ झैँ यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने नै छौं ।’

सन् २००५ को जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दैछ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।

यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकट लगायत यस कार्यक्रमको सम्पूर्ण जानकारी www.paleti.com.np मा उपलब्ध छ ।