बारा । नाला निर्माणको बिषयलाई लिएर नगर समूह र समाजवादी युवा संघबीच झडप हुँदा तीन जना घाइते भएका छन्। बिहीबार राति समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुसवाह र महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवको समूहबीच झडप भएको हो।
नगर प्रमुख यादवले नाला निर्माण नगरिदिएको भन्दै गत सोमबार उपाध्यक्ष कुसवाहले गुनासो गरेका थिए। यही विषयमा दुवै पक्षबीच विवाद हुँदै आएको थियो। विवाद चलिरहँदा कुसवाहले नक्कली आइडी बनाई फेसबुकमा नगरपालिकाबारे नकारात्मक टिप्पणी गरेको प्रमुख यादवले आरोप लगाए।
कुसवाहले भने आफ्ना बुबालाई कार्यालयमा बोलाएर नगर प्रमुखले शौचालयमा थुनेर कुटपिट समेत गरेको आरोप लगाएका छन्।
झडप हुँदा नगरपालिका कार्यालयका ड्राइभर साहेवप्रसाद यादवको टाउकोमा चोट लागेको छ। उनको वीरगञ्ज नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख यादवले बताए। त्यस्तै नगर समूहका धिरेन्द्रप्रसाद लहेरी र साजन गुप्ता सामान्य घाइते भएका छन्।
झडपमा समाजवादी युवा संघका उपाध्यक्ष कुसवाह पनि घाइते भएका छन्। मुकेशको छाती, टाउको र पेटमा चोट लागेको छ। उनको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको भाञ्जा सुनिल कुसवाहले जानकारी दिए।
‘पहिलेदेखि नै नगर र अर्को पक्षबीच विवाद थियो हिजो सामान्य झडप भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले भने, ‘स्थिति छिट्टै नियन्त्रणमा आएको थियो।’