६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ?



अ+ अ-

काठमाडौं । गएको भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनलाई सबैभन्दा पहिला समर्थन गर्ने ठूलो राजनीतिक दलमध्येको पार्टी हो तत्कालीन माओवादी केन्द्र । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका माग आफ्नै पार्टीले उठाएका जस्ता माग रहेका भन्दै त्यसको समर्थन गरेका थिए । उनले जेनजीको आन्दोलनप्रति खुलेरै समर्थन पनि गरेका थिए ।

त्यसपछि विस्तारै खुलेका राजनीतिक दलहरुले सबैले सो आन्दोलनको विरोध गरे । एमालेले खुलेरै सरकारको विरोध गर्यो भने कांग्रेसले संस्थागत रुपमा नगरे पनि केही नेताले भने आन्दोलनको विरोध गरे ।

तर, माओवादीमा भने न संस्थागत एवं नत व्यक्तिगत रुपमा नै कुनै नेताले सो आन्दोलनको विरोध गरेका थिए । अझ अध्यक्ष प्रचण्डले त झन् सरकारको समर्थन मात्र गरेका होइनन् कि निर्वाचनका लागि सरकारलाई सबै मिलेर समर्थन गर्नुपर्छ भनेका थिए ।

उनले सार्वजनिक समारोहमै जेनजी आन्दोलन र त्यसमा भएका विध्वंस वर्तमान सरकारको गल्ती नभएर पूर्ववत् ओली सरकारका कारण भएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी पूर्व प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने भनेका थिए ।

साथै यो निर्वाचनमा सहभागी हुनुहुँदैन भन्नु प्रतिगमन पुनः फर्काउन खोज्नु हो सम्म पनि भन्न भ्याए । यतिमात्र नभएर उनले बालेन साह, रवि लामिछानेलाई लोकतन्त्रका सुन्दर फुल समेत भन्ने गरेका थिए ।

तर शनिबार उनी अकस्मात आफ्ना यी पुराना बिचारहरुबाट युटर्न भएका छन् । उनले नेपाली कम्युनिष्ट पार्टीको बागमती प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै सरकारमाथि मात्र नभएर बालेन, रवि माथि पनि खनिए ।

उनले सरकार निर्वाचन गर्ने मुडमा नरहेको आफूले पाएको हिजो खुलासा गरे । उनले सो सभामा यस्तै पारा हो भने त कसरी चुनाव हुन्छ र ? सरकारले कसरी चुनाव गर्न सक्छ र ? भनेर प्रश्न गरेका थिए । त्यस्तै उनी हिजो नै रवि बालेनहरुमाथि पनि नराम्ररी खनिए । उनले आफूले उनीहरुलाई लोकतन्त्रका सुन्दर फूल भन्ने गरेको तर पछिल्लो समयमा आएर भने उनीहरु काँडा भएर निस्किएको प्रतिक्रिया दिए ।

उनले भनेका थिए— मलाई त लाग्थ्यो उनीहरु लोकतन्त्रका सुन्दर फूलहरु हुन् । तर अहिले त किन हो काँडा भएर निस्किए । सो पार्टीका प्रदेशस्तरीय सभाहरुमा उनको काम पूर्ववत सरकार र विशेष गरी एमाले अध्यक्ष ओलीलाई गाली गर्ने थियो । तर सरकार र पछिल्लो जेनजी आन्दोलनप्रति उनी नरम नै थिए ।

तर अकस्मात हिजोको सभामा उनको प्रतिक्रिया देखेर मानिसहरुले प्रश्न गर्न थालेका छन् कि— प्रचण्ड अकस्मात किन यसरी बिच्किन पुगे ? एकजना राजनीतिक विश्लेषक भन्छन्— प्रचण्डले वर्तमान सरकारसँग हात लम्काउने खोजेका थिए । यसअघिको सरकारका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेसँग यो सरकार हात बढाउन सक्दैन, त्यसैले आफू नजिक भएर यी ठूला दलमाथि जाइलाग्छु भन्ने दाउमा उनी थिए । तर प्रधानमन्त्री सुशिला कार्कीले उनलाई भेट नदिएपछि पछिल्लो समय प्रचण्ड बिच्किएका हुन् ।

यसको वास्तविकता त के हो भोलिका दिनमा खुल्दै जाला । तर अहिले उनी अकस्मात बिच्किन पुगेको कारण भने गम्भीर नै हुनुपर्दछ । सायद, यसको गहिराई उनी हिजो प्रस्तुत भएको शैलीबाट पनि बुझ्न सकिन्छ । किनभने सम्बोधनका क्रममा उनी बढी नै आक्रोषित थिए ।