काठमाडौँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताउनुभएको छ ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताउनु भयो । आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गर्नुभयो । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनैपनि मन्त्रालयको नेतृत्व भएन । नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो । परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको छ । त्यसमा यथोचित बजेटहरु विनियोजन भएका छन् । हजारौँ हाम्रा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सयौँको संख्यामा हाम्रा चिकित्सालयहरु छन् । अहिले मेरो मन्त्रालयबाट सचिवज्यु र आयुर्वेद विभागका महानिर्देशक समेत यही कार्यक्रममा उपस्थित हुनुहुन्छ । यहाँहरु कसैलाई आयुर्वेदको र परम्परागत चिकित्सा पद्धतिको बारेमा जानकारी लिनुछ भने हाम्रो आयुर्वेद विभागबाट जानकारी पाउन सक्नुहुनेछ । हाम्रो राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेका छन् ।’
मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताउनु भयो । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको बताउनु भयो ।










