ललितपुर । राष्ट्रिय समाचार समिति (रासस) की वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्मानित हुनुभएको छ । भैँसेपाटीको फुलबारीमार्गस्थित श्रीकुल माविले उहाँलाई सम्मान गरेको हो । उक्त विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा विद्यालयमा आयोजित एक विशेष समारोहमा विद्यालयका तर्फबाट पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।
साथै सोही समारोहबीच रिसालले लिजमा उपलब्ध गराउनुभएको करिब चार रोपनी जमीनमा निर्माण गरिएको भवनको पूर्वमन्त्री डा.तुलाधर र वरिष्ठ सम्पादक रिसालले उद्घाटन गर्नुभएको थियो । उक्त भवनको नाम रिसालका स्वर्गीय पति आनन्दगोपाल रिसालको स्मृतिमा आनन्द भवन राखिएको छ । सो कार्यक्रममा पूर्वमन्त्री डा तुलाधरले देशलाई समृद्ध बनाउन वर्तमान सरकारले निजी क्षेत्रको शिक्षाको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपकराज जोशी र प्रधानाध्यापक शिवेन्द्र कार्कीले विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । वाग्मती प्रदेशसभा सदस्य जीवन खड्का, ललितपुर महानगरपालिका वडा नं २५ का अध्यक्ष विष्णुकुमार कार्कीलगायत स्थानीय समाजसेवीले विद्यालयको प्राज्ञिक विकासका लागि शुभकमाना दिनुभएको थियो । कार्यक्रममा सो विद्यालयका विभिन्न कक्षाका विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सो विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन् ।
उक्त समारोहमा स्वर्गीय आनन्द रिसालका दिदी बहिनीहरु डा.इन्दिरा रिसाल सत्याल, प्रभा रिसाल अर्याल र सरला रिसाल भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । ड.सत्याल वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । त्यस्तै प्रभाले हाल पद्म कन्या क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ भने सरला पनि शिक्षण पेसामा नै रहनुभएको छ । भैंसेपाटी निवासी ‘कैलाश बाजे’ को नामबाट परिचित स्थानीय समाजसेवी स्वर्गीय विष्णुप्रसाद रिसालका छोराछोरी उहाँहरुजस्तो शिक्षित परिवारका कारण उक्त विद्यालयका लागि जमिन प्राप्त भएको विद्यालय प्रशासनले जानकारी दिएको थियो ।