काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमको मूल्य भन्दा कम पारिश्रामिकमा नेपाली कामदार विदेश पठाउन नहुने बताउनुभएको छ ।
२५ औँ अन्तर्राष्ट्रिय आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका विषयमा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
श्रमको मूल्य र सुरक्षाको ग्यारेन्टी गरेर दक्ष सीपयुक्त व्यक्तिलाई मात्रै रोजगारको लागी अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्नेमा जोड दिनुभयो । हाल विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी श्रम आप्रवासी रहेको उल्लेख गर्नुहुँदै नेपालबाट पनि वार्षिक ८ लाख ३९ हजार नेपाली रोजगारीको लागि विदेशिने गरेको जानकारी दिनुभयो । विदेशमा पहिलो पटक जाने नै पाँच लाख बराबरको जनशक्ति रहेको र त्यो अझ थपिने क्रममा रहेको उहाँको भनाई छ । उहाँले नेपालको विकासमा आवश्यक जनशक्ति पुँजी र रोजगारको खोजीमा विदेशीन बाध्य रहेको बताउनुभयो । हाल नेपालमा नै उनीहरुलाई रोक्न सक्ने अवस्था पनि नरहेको उहाँको भनाई छ । उहाँले नेपालमा रोजगारीको सम्भावना र अवसरहरुको खोजी गरी बजारको माग, अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दे रोजगारदाता र रोजगारीको खोजीमा रहेको व्यक्तिहरुलाई जोड्ने गरी बजारको माग, अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार साझेदार निकायहरु तथा संघसंस्थाको प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नसकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएका वितृष्णाहरु समयमा नै समाधान गर्न सकिन्छ । अहिले बढ्दै गइरहेको वैदेशिक रोजगारीप्रतिको आर्कषणलाई पूर्णरुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । अर्को देशमा आवतजावत गर्नसक्ने विषय व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर यति हुँदैमा हामीले हाम्रो नागरिकलाई न्युन मूल्य र पारिश्रामिकमा, अन्तराष्ट्रिय श्रमको मुल्य भन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन । विश्व बजारको माग अनुसारको सीपयुक्त, क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरण निर्माण गर्नुपर्ने तपाई हाम्रो दायित्व हो । पुँजीका लागी र श्रम बेच्नको लागी विदेशीनु पर्ने अवस्था छ । विश्वमा श्रम आप्रवासन मात्रै विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी गएको भन्ने कुरा तथ्याङ्कले देखाउँछ । हाम्रो देशबाट मात्रै पनि वर्षेनी ८ लाख ३९ हजार र पहिलो पटक जाने नै पाँच लाख त्यो पनि क्रिम जनशक्ति, जसको श्रम यो मुलुकलाई आवश्यक हुन्छ । त्यो बढ्दो क्रममा छ । हामी तिनीहरुले पठाएको रेमिट्यान्सको भरमा २८ प्रतिशत कुल गार्हस्थको योगदान भन्ने तथ्याङ्कले देखाउँछ । त्यो आएको रकम पनि ९० प्रतिशत हामीले उपभोगमा नै खर्च गर्ने गरेका छौँ । यो चक्रभित्र चाँही मुलुकको विकास फसेको छ ।’
विश्व बजारको मागअनुसारको सीपयुक्त, क्षमतावान् र दक्ष जनशक्तिहरु विदेश पठाउनसके मात्रै नेपालीहरु श्रम शोषणमा नपर्ने उहाँले बताउनु भयो । उहाँले श्रम गर्नको लागि विदेश जान बाध्य नेपालीहरुलाई मेनपावर कम्पनी तथा विचौलियहरुले दुख दिने गरेको उल्लख गर्नुभयो । वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्ने, दुःख दिनेलाई कारबाही गर्न मन्त्रालयले विशेष संयन्त्र तयार गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रायले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोसँगको सहकार्यमा ठगीमा संलग्नहरुलाई कारबाही प्रक्रिया गर्न विशेष अभियान नै सञ्चालन गर्ने उहाँको भनाई छ ।









