कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको फैसला चाँडै कार्यान्वयन गरिने बताउनुभएको छ ।
पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उहाँले फेवातालको ६५ मिटरभित्रका अस्थायी÷स्थायी संरचना हटाउन अदालतले दिएको आदेशअनुसार अतिक्रमित संरचना हटाएर खाली गर्ने र सो क्षेत्रमा हरियाली बनाइने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पोखराको फेवातालको क्षेत्र निर्धारण गरिएको छ, तालको टेरिटोरीमा पिल्लर गाडिएको छ । यसपछि अतिक्रमित अवस्थालाई क्रमिक रूपमा खाली गर्नुपर्ने र हरियाली गर्नुपर्नेछ, हामी गर्छौं । तालको सिमादेखि ६५ मिटर खाली गर्नुपर्ने सर्वोच्चको आदेश कार्यान्वयन हुन्छ ।”
उहाँले अतिक्रमित क्षेत्रमा परेका सरकारी संरचना पहिलो चरणमा हटाइने र फेवातालको वरिपरि हेर्न लायक हरियाली बनाउनेसमेत उल्लेख गर्नुभयो । पोखरालाई ब्राडिङ गर्नुपर्छ भनेर प्रदेश सरकार र पोखरा महानगरको संयुक्त पहलमा पोखरालाई पर्यटकीय राजधानी घोषण गरेको हो ।
पोखराको राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा ‘ब्राण्डिङ’ गर्नका लागि प्रदेश सरकार र महानगरको सहकार्य र योजनामा पर्यटन राजधानी घोषणा गरिएको बताउँदै उहाँले घोषणापछि गर्नुपर्ने कामसमेत सहकार्यमा गरिने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था, मर्म र भावनाअनुसार प्रदेश सरकार र पोखरा महानगरबीच समन्वय र सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले पोखरालाई प्रदूषणमुक्त सहर बनाउने उद्देश्यले एशियाली विकास बैंकसँगको सहकार्यमा प्रदूषणमुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
महानगर प्रमुख धनराज आर्यालले पोखराको दिगो एवं दीर्घकालीन लक्ष्यका साथ पोखराको शिक्षा, स्वास्थ, कृषि, पर्यटन, पूर्वाधारलगायत समग्र क्षेत्रको विकासमा निरन्तर क्रियाशील हुँदै आएको बताउनुभयो । उहाँले विदेशी दातृ निकाय र विकास साझेदारसँगको सहकार्यमा हाल पोखरामा रु ३३ अर्बको योजना कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।
“विकास साझेदारसँगको सहकार्यमा पोखराको विकासका लागि काम गरिरहेका छौँ । हाम्रो नेतृत्वमा पोखराको दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, महानगर प्रमुख आचार्यले भन्न्नुभयो ।
महानगरले स्थापना दिवसका अवसरमा पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका नौ जनालाई नगद रु दुई लाख दुई हजार २०२ सहित पदक, ताम्रपत्र र दोसल्ला ओढाएर ‘पोखरा रत्न’ सम्मानबाट सम्मानित गरिएको छ ।
‘पोखरा रत्न’बाट सम्मानित हुनेमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, सङ्गीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा डा वीरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे रहनुभएको छ ।
यसैगरी, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा डा बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित हुनुभयो । महानगरपालिकाले पोखरा–२८ की १०७ वर्षीया झ्याउरीमाया तिमिल्सिना र पोखरा–३२ का १०४ वर्षीय काशीनाथ पण्डितलाई महानगर मातापिताको सम्मान गरेको छ ।
महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट हेम आचार्य सम्मानित हुनुभयो । महानगरको शिक्षा महाशाखा प्रमुख रहनुभएका आचार्यलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको हो । महानगरले पाँच उत्कृष्ट कर्मचारी र पाँच कर्तव्यनिष्ठ कर्मचारी घोषणा गरी नगदसहित सम्मान गरेको छ ।
महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते तत्कालीन पोखरा नगरपालिका स्थापना भएको दिनलाई यस वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन लागेको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रूपमा मनाएको थियो ।
विसं २०१६ पुस २ गते पाँच हजार सङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको हो । यसरी स्थापनाको ३६४औँ दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो ।
स्थापना दिवसका अवसरमा बिहान पोखराको चिप्लेढुँगाबाट बृहत् सांस्कृतिक र्याली निकालिएको थियो । सो र्याली पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोहमा परिणत भएको हो ।










