काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उनी यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षबाट सचिव पदका दाबेदार थिए । तर ओली प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष ओलीको प्यानलबाट सचिव पदमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार बनेका छन् ।
खरेललाई ओलीका विश्वासपात्रका रूपमा लिने गरिन्थ्यो । यसअघि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकारसमेत नियुक्त भएका थिए । साथै, उनी ओलीकै कार्यकालमा २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।










