कोलकाता। भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रङ्गशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्।
अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बङ्गालमा पुग्नुभएको थियो ।
मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रङ्गशालामा खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका थिए ।
मेस्सीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमेर अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रङ्गशालामा पुगेका दर्शकहरूले बताए ।
टिकटको लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रङ्गशालाका सीटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्र्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए ।
“मेस्सीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो । तर, रङ्गशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु,” ३७ वर्षीय व्यवसायी नवीन चटर्जीले भन्नुभयो ।
तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर (७० फिट) को विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गर्नुभएको थियो ।
उहाँले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रसंशकहरूले गरेका थिए ।
अर्का एक प्रशंसकले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेका बताए ।
“मैले टिकटका लागि ५५ हजार रुपैयाँ तिरेको थिएँ र मेरो छोरासँग मेस्सी हेर्न आएको थिएँ, राजनीतिज्ञ होइन । प्रहरी र सेनाका जवानले उहाँसँग सेल्फी खिचिरहेका थिए र यसको दोष व्यवस्थापनको हो,” पिटिआईले दर्शकमध्येका एक अजय शाहलाई उद्धृत गरी लेखेको छ।
राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आफू अव्यवस्थाबाट ‘विचलित’ र ‘दुःखी’ भएको बताउनुभएको छ।
उहाँले भन्नुभयो, “म यस घटनाका लागि मेस्सी, सबै खेलप्रेमी र उहाँका प्रशंसकहरूसँग माफी माग्छु।”
मेस्सी कोलकातापछि हैदरावाद, मुम्बई र नयाँ दिल्ली जाने कार्यक्रम रहेको थियो ।
भारतमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।
इन्टर मियामीलाई एमएलएसको उपाधि जिताउँदै मेस्सीले लगातार दोस्रो पटक यसै हप्ता ‘मेजर लिग सकर मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ जित्नुभएको छ।
बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर मेस्सीले आगामी जुन–जुलाईमा उत्तर अमेरिकामा हुने विश्वकपमा अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व गर्नुहुनेछ। (रासस/एएफपी)










