१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित



अ+ अ-

झापा। पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको छ ।

झापाको विर्तामोडमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला सङ्घर्ष समिति र सङ्घीय लिम्बूवान पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ भएको छ ।

पार्टी एकता घोषणासँगै चारवटै पार्टीका नेतृत्वले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर)का पार्टी नेता सञ्जुहाङ पाङ्लुवा, कोचिला सङ्घर्ष समितिको तर्फबाट पार्टी संयोजक त्रिनारायण राजवंशी र सङ्घीय लिम्बूवान पार्टी नेपालका तर्फबाट अध्यक्ष मित्र लिङ्देनले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

पार्टी एकतासँगै जिम्मेवारी बाँडफाँट गरिएको छ । पार्टी अध्यक्षमा राजेन्द्र महतो, वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवा, उपाध्यक्षमा त्रिनारायण राजवंशी र मित्र लिङ्देन रहनुभएको छ ।

हाल कायम रहेको केन्द्रीय समिति एवं पदीय जिम्मेवारी एकीकृत पार्टीमा सहमतिका आधारमा कायम गरिने एकता घोषणा कार्यक्रममा जनाइएको छ । चार वटा पार्टीबीच बीच गहन छलफल र विचार विमर्शपछि तीन बुँदामा सहमत भई पार्टी एकता गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।

“जनताले खोजेको परिवर्तन र चाहनालाई पूरा गर्न हामी एकीकृत भएका हौँ”, उहाँले भन्नुभयो, “मुलुक परिवर्तनको प्रश्रव पीडामा छ, मुलुकलाई त्यो पीडाबाट मुक्त बनाउन र जनतालाई चाहेको परिवर्तन ल्याउनका लागि हामी एकजुट भएका हौँ ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी सहभागी हुने बताउँदै उहाँले परिवर्तनको लक्ष्यलाई पूरा गर्न निर्वाचनलाई उपयोग गर्ने उल्लेख गर्नुभयो । “निर्वाचनमा सहभागी भएर मात्र लक्ष्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “अधिकार र पहिचानका लागि संसद्को रोस्टममा पुगेर खबरदारी गर्छौं ।”

विचार र विकल्पसहितको क्रान्तिका लागि जनताको ताकत सञ्चित गर्न अब जनतासमक्ष जाने अध्यक्ष महतोको भनाइ छ ।

नवगठित पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पाङ्लुवाले पहिचान र परिवर्तनको मुद्दालाई स्थापित गर्न सबै पहिचान पक्षधर एकजुट भएर शक्ति निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले एक भएर नयाँ सोचका साथ अघि बढ्न पार्टी एकता गरिएको उल्लेख गर्नुभयो ।

पार्टी उपाध्यक्ष मित्र लिङ्देनले जेनजी आन्दोलनपछि मुलुकले नयाँ परिवर्तन चाहेकाले पार्टी एकीकरण गरी परिवर्तनका पक्षमा आफूहरू उभिएको उल्लेख गर्नुभयो । रासस