१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै



अ+ अ-

काठमाडौं । गत वर्ष बाउ र छोराबीचको इमोस्नल सम्बन्ध रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ऐतिहासिक ग्रसकलेक्सन गर्‍यो । नेपालबाट मात्रै झण्डै ५० करोड रुपैयाँ ग्रसकलेक्सन गर्‍यो । यो सिनेमामा बाउले छोराका लागि गरेको संघर्षलाई दर्शकले मन पराउँदा चलचित्रले ऐतिहासिक रेकर्ड बनायो ।

यो वर्ष अर्को चलचित्र ‘परान’ले पनि अहिलेसम्मकै धेरै कमाइ गर्‍यो । यो चलचित्रमा पनि बाउ र छोराको कथा नै छ । छोराहरू आफूसँगै बसुन् भन्ने बाउ तर छोराहरू परदेशिने कथा छ । यसमा पनि बाउ र छोराबीचकै इमोस्नल कथा छ । यही इमोस्नल कथा दर्शकले रुचाए ।

अब यस्तै अर्को चलचित्र आउँदैछ, तर यो बाउ र छोराबीचको होइन, बाउ र छोरीबीचको इमोस्नल ड्रामा हो । सन्तानप्रति बाउआमाले गर्ने अथाहा स्नेह र त्याग अहिले नेपाली चलचित्र बजारमा बिक्री भएको कथा हो ।

यही कथा लिएर चलचित्र ‘मिरमिरे’ माघ १ गते आउँदैछ । छोरीका लागि बाउले गरेको संघर्ष यो सिनेमामा छ । आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ ।

छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ रु यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

“हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,” मिरमिरेका निर्देशक यम शेर्पा भन्छन्, “बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।”

हरेक घरघरको कथा भएकाले ‘मिरमिरे’लाई दर्शकले मन पराउने र अधिकांशले आफूमा रिलेट गर्ने उनी बताउँछन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।