काठमाडौं। सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न खेलमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै साविक उपविजेता सुदूरपश्चिमले फाइनलको टिकट काटेको हो ।
यद्यपि, पराजित विराटनगरलाई फाइनल पुग्ने एक मौका भने जिवितै छ । भोलि हुने एलिमिनेटर अन्तरगत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग विराटनगरले फाइनल प्रवेशका लागि खेल्नेछ ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट भयो ।
उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाउँदा मर्चेन्ट डे लाङ्गले १५, बसिर अहमदले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । साम हिजलेट र नरेन भट्टले खाता समेत खोल्न नसकी पभेलियन फर्किए भने मार्टिन गप्टिलले २, लोकेश बमले ५, नारायण जोशीले १ र प्रतिश जिसीले ३ रनमात्रै बनाए ।
वलिङतर्फ सुदूरपश्चिमका हरमित सिंह, अविनाश बोहरा र स्कट कुगलाइनले दुई-दुई तथा हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो ।
उसका लागि बिनोद भण्डारीले अर्धशतक बनाए । उनले ६३ रनको योगदान दिए । यस्तै, शेल्डन ज्याकसनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३, आरिफ शेखले २० रन जोडे ।
वलिङतर्फ विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गले दुई दुई तथा सूर्य तामाङ र साम हिजलेटले एक एक विकेट लिए ।










