नेपालगन्ज। पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् ।
वार्षिक करिब रु एक करोड ठेक्कामा लगाइको ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । सो नगरबस प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभयो ।
क“अहिले हामीले त्यसको अध्ययनका लागि समिति गठन गरेका छौँ, समितिको प्रतिवेदनपछि विस्तृत जानकारी आएपछि आवश्यक व्यवस्था गरिने छ ।” उहाँले भन्नुभयो । नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे नगर बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । केही समय चलेपनि आर्थिक पक्षसहित व्यवस्थापनमा समस्या देखिएपछि नगरबस सञ्चालन हुन नसकेको बताइएको छ ।
उपमहानगरपालिकाले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि बोलपत्र आह्वान गरी ठेक्कामा लगाएको थियो । तर, ठेकेदारले समेत नियमित रुपमा बस सञ्चालन गर्न नसकेपछि वर्षौंदेखि नगरबस बसपार्कमा थन्क्याइएको नेपालगन्ज उपमहानगरपालिका–६ का वडाध्यक्ष समीरप्रताप सिंहले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बसपार्कमा थन्किएका बसको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारे अध्धयन गरी आगामी कार्यपालिका बैठकमा प्रतिवेदन पेस गर्न १५ दिनको समय तोकिएको जानकारी दिँदै अध्ययन समितिको प्रतिवेदनपछि मात्रै सबै विषय आउने स्पष्ट गर्नुभयो । “बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको हो सोहीबमोजिम सञ्चालन गर्न उचित हुन्छ”, वडाध्यक्ष रिजालले भन्नुभयो ।
उपमहानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख कृष्ण जोशीले पाँच वर्षसम्म सञ्चालन भएको नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेको जानकारी दिँदै नगरबस र बसपार्क एकीकृत रुपमा ठेक्का लगाइ पनि सिर्जित समस्याका कारण बस सञ्चालन हुन नसकेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाको गत कात्तिकमा बसेको कार्यपालिकाको बैठकले नगरबस व्यवस्थापनका लागि वडा नं ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा छ सदस्यीय नगरबस व्यवस्थापन अध्ययन समिति गठन गरेको थियो । यसैबीच नगरबस सञ्चालनका विषयमा अदालतमा समेत मुद्दा परेको बताइएको छ । रासस










