काठमाडौँ । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो ।
डब्लुएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी भएको छैन ।
जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा कोभिड–१९ भित्रिन्न भनेर बस्नु नहुने बताए । बिबिसिका अनुसार बिहीबारसम्म दक्षिण कोरियमा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै, इटालीमा ६५० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ।
बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार चीनका अलावा दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमित धेरै छन्। यी पाँचै देशबाट नेपालमा निर्वाध पर्यटक भित्रिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।