काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छन् ।
कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम सरकार केन्द्रीत भएको बताउनुभयो । परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारी मन्त्रालयले गरेको उहाँले बताउनुभयो ।
कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उहाँले बताउनुभयो । विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रीत हुन्छौँ । आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउँछौँ । जब परिस्थिती अनुकुल हुन्छ । सन्त्रासहरु हट्दै जान्छन् त्यसपछि हामी फेरी सक्रियताका साथ भ्रमणवर्षको प्रवद्र्धनात्मक काममा अगाडी बढ्छौँ ।’
कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दामा पनि असर गरेको उहाँले बताउनुभयो । भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडी बढेपनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो । वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरको संख्यामा कमि आएको थियो । नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमानाकाहरुमा सरकारले कडाई गरेको छ । मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताउनुभयो ।
सरकारले २ हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीहरुलाई उद्धार गरी स्वदेश ल्याएको थियो । उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन् । शनिबार (आज) खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १९३ जनाको थ्रोट स्वावको नमुना परीक्षणका लागि संकलन गरिएको छ । रिपोर्ट नेगेटिभ देखिएमा सबैलाई क्वारेन्टाइनबाट निकालिनेछ । कोरोना प्रभावित मुलुकहरुमा पर्यटन आवतजावतमा मात्रै नभएर व्यापार व्यवसाय, औषधि उत्पादन, कच्चा पदार्थ आयात निर्यातमा पनि असर गरेको छ । कतिपय ठाउँमा हप्तौँदेखि विद्यालयहरु समेत बन्द रहेका छन् ।