सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारहरूको काम सन्तोषजनक रूपमा अघि बढेको बताउनुभएको छ ।
आज प्रदेश सरकारबाट निर्माण भइरहेका चार वटा सडक तथा पुलका योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात कँडेलले विगतको तुलनामा कामको गति बढेको बताउनभयो । विगतमा धेरै छलफल भए पनि काम हुन नसकेको र जनगुनासो बढेको ती क्षेत्रमा यसपटक निर्माण व्यवसायीहरूले काममा तदारुकता देखाएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा काम गर्ने निर्माण व्यवसायीले भुक्तानीको चिन्ता लिनु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशले एउटा सकारात्मक सन्देश दिएको छ । कर्णालीमा काम गरेबापतको भुक्तानी पाइन्छ । रकमको अभावले काम रोकिँदैन ।”
बजेट मात्र छुट्याएर नहुने भन्दै कार्यान्वयन गर्ने निकायको तत्परता र निर्माण व्यवसायीको इमानदारिता भएमा सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । “तपाईँहरू समयमै काम सक्नुहोस्, आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
पश्चिम क्षेत्रमा विशेष गरी बड्डीचौर–खम्बागाडेलगायतका सडकमा विगतमा काम नहुँदा जनतामा नैराश्यता र अविश्वास पैदा भएको थियो । उहाँले रानीघाट–भुरिगाउँ सडकजस्ता लामो समयदेखि अल्झिएका आयोजनाले पनि अहिले गति लिएको जानकारी दिनुभयो । कँडेलले सरकारी कामकारबाहीको प्रक्रियाले गर्दा काममा ढिलाइ हुने गरेको स्वीकार गनुभयो ।
बजेट भएर पनि टेन्डर प्रक्रिया, मूल्याङ्कन र छनोट गर्दा तीन–चार महिना लाग्ने र त्यसले गर्दा फागुन–चैतमा मात्र काम सुरु हुने परिपाटीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हामीले साउनबाटै टेन्डर निकाल्ने सुरुआत गरेका छौँ, ताकि समयमै काम सुरु होस्”, उहाँले भन्नुभयोे, “मनको गतिले मात्र हुँदैन, विधि र प्रक्रियाले पनि साथ दिनुपर्छ । यद्यपि कानुनी र प्रक्रियागत झन्झटहरूलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।”










