१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने

उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने
अ अ+ अ-

विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ । श्रीलङ्का सरकारले हात झिकेको दुई महिना भइसक्दा पनि मन्दिर पुनःनिर्माणका लागि कसले कदम अघि बढाउँछ भन्ने अन्योल कायम छ ।

सार्वजनिक खरीद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन नसकिने महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । “हामीले उपभोक्ता समिति गठन गरी यस मन्दिरको पुनःनिर्माण गर्ने निर्णय गरिसकेका छौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन तत्पर भइसकेको छ”, उनले भने । महानगर प्रमुख महर्जनका अनुसार मन्दिर पुनःनिर्माणका लागि अब ठेक्कापट्टा नगरिने कुरा अघि बढेको छ ।

मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दुवैबाट महानगरपालिकामा हालसम्म समिति गठन गर्नू भनी पत्र नआएको उनले बताए । “यदि प्राधिकरणले विभागलाई लेखेबमोजिम महानगरपालिकामा उपभोक्ता समिति गठन गर भनेर पत्र आयो भने छिट्टै समिति गठन गरी काम अघि बढाउने छौं”, उनले भने । प्राधिकरणले विभागलाई समितिमार्फत मन्दिर पुनःनिर्माण गर्ने सल्लाहसहित पत्र पठाएको थाहा पाएर आफू खोज्न गए पनि विभाग र प्राधिकरण दुवैबाट महानगरपालिकामा समिति गठन गर्नू भनेर हालसम्म कुनै पत्र नआएको महानगर प्रमुख महर्जनले बताए ।

करीब दुई महिनाअघि महानगरपालिकालाई समिति गठन गर्नू भनी प्राधिकरणले चिठ्ठीपत्र पठाइसकेको विभागका प्रमुख इञ्जिनीयर सम्पत घिमिरेले बताए । उनले भने, “यस मन्दिर पुनःनिर्माणका लागि श्रीलङ्का सरकार लगभग रु साढे पाँच करोड सहयोग गर्न तयार भएको थियो । श्रीलङ्का सरकारअन्तर्गत मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ । श्रीलङ्का सरकारले सहयोग गर्ने भनेको रकममा लगभग रु तीन करोडको काम गर्न अझै बाँकी नै रहेको हुँदा महानगरपालिकाले चासो देखाए छिट्टै काम अघि बढाउने थियौं ।”

विभागसँग अर्बौँ रकम रहेको हुँदा मच्छिन्द्रनाथ पुनःनिर्माणका लागि समिति गठन भएर आएपछि छिट्टै काम अघि बढाइने घिमिरेले जिकिर गरे । विगतमा समझदारी भएको तीन ठेकेदार कम्पनीबीचमा आपसी विवादका कारण मन्दिर पुनःनिर्माणको काम समयमै गर्न नसकिएको पाटन दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले बताए । उनले भने, “मन्दिरमा रहेका १३ देखि १४ सय वर्ष पुराना वस्तुको पुनःप्रयोग गरी पुनःनिर्माणको काम अघि बढाउने छौं । मन्दिर पुनःनिर्माणका लागि अघि नै खरिद गरेर राखिएका रु ४० लाख बराबरको सामग्री त्यसै थन्किएका छन् ।”

रातो मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रूपमा तथा बौद्ध धर्मावलम्बीले पद्मपाणि (पञ्च बोधिसत्वमध्येका एक) का रूपमा पुज्ने गर्छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ । रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राको रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष जावलाखेलमा भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको सोही मन्दिरमा लगेर राखिन्थ्यो । विसं २०७२ को भूकम्पपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको एक गुठीको घरमा राखिँदै आएको छ ।

विभागले अब मन्दिर पुनःनिर्माणको काम अघि बढाउन रु तीन करोड लाग्ने अनुमान गरिसकेको छ । काम अघि बढाएको एकदेखि डेढ वर्षमा काम सक्ने योजनामा विभाग छ । समिति गठन भएर आएपछि विगतका ठेकेदार कम्पनीले सो कामको जिम्मा पाउने छैनन् । शिखरशैलीको ढाँचामा रहेको मन्दिर निर्माणमा ३६ फिट लामो काठको प्रयोग गरिने मन्दिरका पानेजु सूूर्यमान डङ्गोलले जानकारी दिए। मन्दिर पुनःनिर्माणमा पुरानै मौलिकता झल्काउन स्थानीयवासीले पटकपटक सम्बन्धित निकायलाई आग्रह गरिरहेका छन् । मन्दिर पुनःनिर्माणमा ढिलाई हुँदा स्थानीय जनतालाई विभिन्न चाडपर्वमा असर पर्ने गरेको वडा नं २२ का अध्यक्ष अम्बिरराज शाक्यले बताए।

उनले भने, “स्थानीय चाडपर्वमा असर पर्दै जाँदा जनताले समयसमयमा मन्दिर पुनःनिर्माणको काम अघि बढाउन आग्रह गरिरहेका छन् ।” रातो मच्छिन्द्रनाथ जात्रा मनाउन उपत्यकाको तीनै शहरका मानिसका साथै विभिन्न विदेशी मुलुकका मानिस पनि पाटन आउने गरेका छन् । विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीबाट मन्दिर पुनःनिर्माणको काम शुरुआत गर्ने वचनबद्धता व्यक्त गरे पनि हालसम्म यसको कुनै ठेगान लाग्न भने सकेको छैन ।

मच्छिन्द्रनाथ पूजाका लागि गठित ३१ पानेजुले पालैपालो सो मन्दिरमा पूजाआजा र रेखदेख गर्ने गरेका छन् । लिच्छिविकालतिर गुरु गोरक्षनाथले नवनागलाई आसन बनाएर समाधिमा बसेपछि देशभर १२ वर्ष अनिकाल र खडेरी भयो । मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गुरु (गोरखनाथका गुरु मच्छिन्द्रनाथ) को दर्शनका लागि गोरखनाथ उठ्दा नागहरु यताउता लागेपछि वर्षा र सहकाल गराएको सम्झनामा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि मच्छिन्द्रनाथको जात्रा मनाउने परम्परा रहिआएको छ ।