जेरुसेलम। बेलायत र अमेरिकाका नेताहरूले यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत गरेका छन्। तर शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।
बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थल नजिक केही व्यक्तिलाई पक्राउ गरिएको घटना र इजरायलतर्फ गइरहेको विमानको चालक कक्षमा भएको आक्रमणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले घटनाको वास्तविक कारणबारे अझै स्पष्ट निष्कर्ष आइसकेको छैन।
बेलायतको सैन्य विमानस्थल नजिक भएको घटनामा प्रहरीले बेलायती तथा इरानी दुवै नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा पक्राउ गरेको छ। अन्य पाँच जनालाई धरौटीमा रिहा गरिएको छ। प्रहरीले विमानस्थल नजिक रहेका केही गाडीबाट पेट्रोलजस्तो ज्वलनशील पदार्थ भेटिएको जनाएको छ। तर विस्फोटक पदार्थ भने फेला नपरेको बताइएको छ।
इरानले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले बेलायतसँग घटनाबारे औपचारिक जानकारी मागेका छन्।
यसैबीच, इजरायलतर्फ जाँदै गरेको विमानमा भएको घटनामा पनि इरानको सम्भावित सम्बन्धबारे चर्चा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहचालकको इरानसँग सम्बन्ध हुन सक्ने संकेत गर्नुभयो। तर घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूले अहिलेसम्म इरानसँग सम्बन्ध पुष्टि गर्ने प्रमाण नभेटिएको बताएका छन्।
सम्बन्धित घटनामा इरानको भूमिका रहेको दाबी पुष्टि भएमा त्यसले क्षेत्रीय सुरक्षा अवस्थाबारे थप प्रश्न उठाउन सक्ने विश्लेषण गरिएको छ। अहिले दुवै घटनाबारे अनुसन्धान जारी रहेको छ। रासस








