२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोह बढ्दै छ कैदीबन्दीको अध्ययनमा



अ+ अ-

अच्युत रेग्मी, काठमाडौँ । सबैभन्दा ठूलो केन्द्रीय कारागार जगन्नाथदेवलका कैदीबन्दीको अध्ययनमा मोह बढ्दै गएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको सो कारागारभित्र हाल ६५० बन्दी अध्ययनरत छन् । त्यहाँ तीन विद्यालय सञ्चालनमा रहेका छन् । भद्र कारागारमा बन्दी आधारभूत विद्यालय, महिला कारागारमा महिला बन्दी विकास आधारभूत विद्यालय र केन्द्र कारागारमा जगन्नाथ मावि रहेको छ । ती मध्ये बन्दी आधारभूत विद्यालयमा कक्षा १ देखि ८, महिला बन्दी विकास आधारभूत विद्यालयमा कक्षा १ देखि ५ र जगन्नाथ माविमा कक्षा १ देखि १२ सम्मको अध्ययन हुँदै आएको छ ।

सरकारले तोकेको पाठ्यपुस्तक पढाइ हुने जगन्नाथ माविमा ३२५, बन्दी आधारभूत विद्यालयमा २६३ र महिला बन्दी विकास आधारभूत विद्यालयमा ६२ विद्यार्थी अध्ययनरत छन् । विसं १९७१ मा नेपालको सबैभन्दा पुरानो कारागारका रुपमा स्थापना भएको केन्द्रीय कारागारमा २०१९ सालमा पहिलोपटक कैदीबन्दीलाई शिक्षा प्रदान गर्न जगन्नाथ मावि स्थापना भएको थियो ।

यस्तै महिला बन्दी विकास आधारभूत विद्यालय २०५७ सालमा स्थापना भएको बताइन्छ । कैदीबन्दीलाई पढाउने शिक्षक पनि कैदीबन्दी नै हुने भए पनि पढाउने शिक्षकको तलब काठमाडौँ महानगरपालिका शिक्षा विभागले प्रदान गर्दै आएको छ । कैदीबन्दीलाई पढाउने शिक्षकलाई पढाएबापत पाउने तलबका अतिरिक्त एक वर्ष पढाएबापत दुई महिना बराबरको कैद सजाय माफी हुने प्रावधान रहेको छ ।

अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । नेपालमा कारागारको व्यवस्था विसं १९७१ बाट सुरु भएको हो । नेपालको पहिलो कारागार ‘सदरजेल’ हाल केन्द्रीय कारागार जगन्नाथदेवल हो । कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन चाहने कैदीबन्दीलाई कारागारमा अध्ययन पाउने व्यवस्था छैन ।

केन्द्रीय कारागारका प्रमुख एवम् जेलर लक्ष्मीप्रसाद बाँस्कोटा कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन विद्यार्थीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । “कक्षा १२ भन्दा माथिल्लो तह पढ्ने विद्यार्थी कारागारमा आफैँ पढ्नुपर्छ, परीक्षाको व्यवस्था कारागारले मिलाउँदै आएको छ”, उहाँ भन्नुहुन्छ । कारागार व्यवस्था विभागले गरेको अध्ययनअनुसार केन्द्रीय कारागारको एक हजार ४०० कैदीबन्दी अट्ने क्षमता हो । जेलर बाँस्कोटा केन्द्रीय कारागारमा क्षमताभन्दा ज्यादै धेरै कैदीबन्दी रहेको बताउनुहुन्छ । केन्द्रीय कारागारमा हाल ११ नाबालकसहित तीन हजार ३०८ कैदीबन्दी रहेका छन् ।

देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भइरहँदा सरकारले नुवाकोटको त्रिशूलीमा ५३९ जग्गा लिएर सात हजार कैदीबन्दी क्षमता भएको केन्द्रीय कारागार निर्माण गर्न लागेको छ । एक हजार ५०० कैदीबन्दी अट्ने चारवटा ब्लक र एक हजार क्षमता भएको एकवटा महिला ब्लक निर्माण गर्नका लागि गुरुयोजना बनाएर एकवटा भवन बन्दै गरेको छ । सरकारले पछिल्लो समय खुला कारागारको नीतिसमेत अगाडि सारेको छ । बाँकेको गनापुरमा खुला कारागार निर्माणका लागि सुरक्षा भवन र ब्यारेक तथा प्रशासनिक भवन निर्माणको कामलाई अगाडि बढाइएको छ । सरकारले कैदीबन्दीलाई हरेक दिन खानका लागि दिने सिदा रु ४५ वृद्धि गरी ६० तथा नाबालकलाई रु १० बाट ३५ पु¥याएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार रहेका छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् । ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रहरु सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २५ हजारभन्दा धेरै कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ हो ।