२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँँ: अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उहाँको जिकिर थियो ।

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभाये । उहाँले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले त्रास, आतंक, भय सिर्जना गर्नेकामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताउनु भयो । उहाँले अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ । कोही पनि सुरक्षित छैनौँ । मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरु पनि सुरक्षित हुनुहुन्न । उपमहानिर्देशक सुरक्षित हुनुहुन्न । कार्यालयका प्रमुखहरु सुरक्षित हुनुहुन्न । कोही पनि सुरक्षित हुँदैन । म स्वयं सुरक्षित छैन ।

हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ । यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ । त्रास, आतंक, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्छ । के बुझ्नुपर्छ भने यदी हामीले भय दोहन गर्नखोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो बिन्दु आउँछ, जतिबेला मान्छेले प्रतिवाद गर्दछ ।

प्रतिवादमा उत्रियो भने काम तमाम हुन्छ । कर दातासँग मैत्रीपूर्ण व्यवहार गर्ने हो । उनीहरुका गल्ती, कमजोरीप्रति सहिष्णु बन्न सकिँदैन, गल्ती कमजोरीलाई देखाउने हो, सच्याउन लगाउने हो । कुनैपनि प्रकारका चिटिङलाई दायरामा ल्याउने हो । नियमन गर्ने हो, अनुचित ढंगले छुट दिने, अन्देखा गर्ने होइन । तर तर्साउने, धम्क्याउने काम हाम्रो कर प्रशासनले गर्दैन ।

मिठो बोलेर के बिग्रिन्छ । विभिन्न कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु । धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ । तर कतिपय ठाउँमा अझै आदत बदलिएको छैन ।’

उपप्रधानमन्त्री पौडेलले करदातामैत्री व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा उपप्रधानमन्त्री पौडेलले जोड दिनुभयो ।