१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा



अ+ अ-

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो ।

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन । उहाँका अनुसार नौ जना कर्मचारी दुई चरणमा रहने गरी खटाइएको छ । एक इलेक्ट्रिसियन, चार नगर प्रहरी र चार सरसफाइकर्मी गृह सञ्चालनका लागि खटाइएको हो ।

महानगरपालिकाले शवदाहका लागि १६ जनालाई तालिम दिएको थियो । तीमध्येबाट नौ जना व्यवस्थापनमा जुटेका हुन् । थपलियाले शवदाह गृह सञ्चालनमा रहेको जानकारी भइनसकेकाले शव नआएको बताउनुभयो । उहाँका अनुसार आम नागरिकलाई जानकारी भएसँगै क्रमशः शव आउने छन् ।

एउटा शव दहनका लागि रु तीन हजार ५०० शुल्क लाग्नेछ । दाउराबाट शव दहन गर्नुभन्दा । झण्डै आधा सस्तो पर्ने गर्दछ । करिब ४५ मिनेटदेखि एक घण्टाभित्रमा शव दहन हुने भएकाले समयको समेत बचत हुने थपलिया बताउनुहुन्छ ।

वातावरण र सरसफाइमा समेत सहयोगी हुने उहाँको भनाइ छ । महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । महानगर प्रमुख रेनु दाहालले सहरी विकास मन्त्रालयसँग आग्रह गरी निर्माण गरिएको विद्युतीय शवदाह गृहमा शव दहन गरी वातावरण संरक्षणमा योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ ।

सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको हो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको हो । गृहमा दुई शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चार शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

वर्षातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् ।

ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँको भनाइ छ । वर्षातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । रासस