काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि माज सदाकत र अनिल शाहले अर्धकतकीय पारी खेले । सदाकतले ३० बलमा ६३ तथा शाहले ३६ बलमा ६१ रनको योगदान दिए । यस्तै, आशिफ शेखले १८ रन बनाउँदा आदित्य महताले पनि अविजित १८ रन जोडे ।
बलिङतर्फ चितवनका शोहेल तनविर, अमर रौतेला र कमल ऐरीले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो ।
उसका लागि डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले । मलानले ५४ बलमा ८० रन जोडे भने साउदले ३९ बलमा ५२ रन बनाए । यस्तै, कुशल मल्ल ३० रनमा अविजित रहे । १४ बल खेलेका उनले अन्तिममा आक्रामक ब्याटिङ गर्दै दुई चौका र दुई छक्का प्रहार गरे ।
बलिङतर्फ जनकपुरका रुपेश सिंह, अनिल शाह, लोफ्टी इटन र माज सदाकतले एक–एक विकेट लिए ।










