१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो



अ+ अ-

मुस्ताङ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको पाइएको छ ।

प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनियालगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ ।

हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् ।

अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा कँडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार मङ्सिर १५ गतेसम्ममा २८ जना बिरामीले भर्ना भई सेवा लिइसकेका छन् ।

पन्ध्र श्ययाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै श्यया अभाव भएको उहाँको भनाइ छ ।

बालबालिकामा रुघाखोकी लाग्ने, स्वाशप्रश्वासमा समस्या, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउनेलगायत समस्या देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले जानकारी दिनुभयो । अधिकांश रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर आउनेमध्ये ८० प्रतिशत जति १० वर्ष मुनिका बालबालिका रहेका उहाँले उल्लेख गर्नुभयो ।

रुघाखोकी र निमोनियाका लक्षण देखिएमा तुरुन्तै अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जचाउँनुपर्ने डा कँडलले सुझाव दिनुभयो । चालु आवको साउनदेखि मङ्सिर दोस्रो सातासम्मको तथ्याङ्क अनुसार बिरामी भई अस्पताल भर्ना हुने बालबालिका करिब ७० प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ ।

चिसोबाट सुरक्षित रहन दाउरा वा कोइला बाल्दा, गिजर, हिटरलगायत उपकरण प्रयोग गर्दा हावा छिर्ने गरी ‘भेन्टिलेसन’ खुला गर्नुपर्ने डा कँडेलले जनाउनुभयो । साथै तातोपानी पिउने, झोलिलो र पोषणयुक्त खानपान गर्नेलगायत आवश्यक सावधानी अपनाउनुपर्नेमा डा कँडेलले जोड दिनुभयो ।

यसैबीच, अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसी झरिसकेका छन् । यहाँका बालबालिकालाई चिसोबाट जोगाउन सुरक्षित स्थान खोज्दै बेँसी झारिएको जनाइएको छ । यहाँका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था भने सञ्चालनमा छन् । रासस