२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटा नेपालका सिइओलाई ‘पाटा फेस अफ द एयर’ अवार्ड



अ+ अ-

काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने ‘पाटा फेस अफ द एयर २०२०’ अवार्ड पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडाललाई प्रदान गरिने भएको छ ।

प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तित्वलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित उक्त अवार्डबाट प्रमुख कार्यकारी अधिकृत बुडाललाई सम्मानित गर्ने घोषणा गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो । पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले उक्त अवार्ड विजेताका रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावनाअनुरुप दिगो पर्यटन विकास र प्रवद्र्धनमा प्रशंसनीय काम गरेको बताउनुभयो ।

उहाँले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको सशक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियानअन्तर्गत नेपालमा विविध कार्यक्रम आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवार्डले थप हौसला र अवसर सिर्जना गर्ने बताउनुभयो ।

यस अवसरमा बुडालले पाटा फेश अफ द इयर जस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्नु आफ्ना लागि गौरव र सम्मानको विषय भएको बताउँदै यसले सदैव हौसला र सहयोग प्रदान गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले पाटा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय एवं स्थानीय तहमा आबद्ध सरोकारवालालाई समावेश गरी महत्वपूर्ण सहभागिता एवं वकालतमार्फत दिगो पर्यटन विकासका लागि कटिबद्ध एक अद्वितीय संस्था भएको बताउनुभयो ।

पाटा नेपालका सिइओ बुडाल नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि सक्रिय तथा नेतृत्वदायी आकाङ्क्षा भएका युवा पर्यटन व्यक्तित्व हुनुहुन्छ । पर्यटन व्यवस्थापनमा विषयमा स्नातकोत्तर गर्नुभएका बुडाल सन् २०१३ देखि पाटा नेपालमा आबद्ध हुनुहुन्छ ।