१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने



फाइल फोटो
अ+ अ-

सिरहा। यहाँको लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस अभियानबाट हालसम्म हजारौँ विपन्न नागरिक लाभान्वित भइसकेका छन् ।

आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामीको नगरपालिकाले निःशुल्क उपचार सेवा सुनिश्चित गर्दै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरिरहेको हो ।

यसै क्रममा आज आयोजित निःशुल्क आँखा जाँच शिविरबाट १७५ जनाले सेवा पाएका छन् । लहान–२० र २१ मा सञ्चालित उक्त  शिविरमा १७५ जनाले आँखा जाँच गराएका हुन् ।

आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार जाँच गरिएकामध्ये ५८ जनामा मोतियाविन्दु पत्ता लागेको छ ।

पहिचान भएका सबै बिरामीको निःशुल्क शल्यक्रियाका लागि नगरबसबाट सगरमाथा अस्पतालसम्म पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

संयोजक यादवले भन्नुभयो, “आजको शिविरबाट मोतियाविन्दुका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका ५८ जना बिरामी पहिचान भएका छन् । उहाँहरूको सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिनेछ । विपन्नका लागि रु पाँच हजारदेखि रु १० हजारसम्म खर्च लाग्ने शल्यक्रिया निःशुल्क हुँदा उहाँहरूमा नयाँ उत्साह थपिएको छ ।”

लहान नगरपालिकाको २४ वटै वडामा तीन वर्षदेखि सञ्चालन गरिरहेको यस शिविरले विपन्न समुदायको आँखाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याएको छ ।

शिविर संयोजक यादवले दिनुभएको हालसम्मको तथ्याङ्कअनुसार एक हजार ९०५ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सात हजार बिरामीलाई औषधि र तीन हजारलाई निःशुल्क चस्मा दिइएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न नागरिकको निःशुल्क आँखा जाँच र शल्यक्रियाका लागि नगरले हालसम्म रु २५ लाख खर्च गरेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा आँखा रोगबाट पीडित कुनै पनि विपन्न समुदाय नरहने दाबी गर्दै यो वर्ष करिब एक हजार जनाको मोतियाविन्दुको निःशुल्क उपचार गर्ने योजना रहेको बताउनुभयो ।

गाउँगाउँमा रहेका बिरामीको पहिचान गरी उपचार गर्ने नगरको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले ‘दृष्टि नहुनेहरूका लागि लहान नगरपालिका सहारा बनेको’ बताउनुभयो ।

लहान नगरपालिकाले थालेको यो प्रेरणादायी अभियान मधेस प्रदेशका अन्य स्थानीय तहमा समेत विस्तार भइरहेको छ । अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीका अनुसार लहानसहित सिरहा र सप्तरीका १७ वटा पालिकामा यस किसिमको शिविर तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ ।

लहान नगरपालिकाको यो कदमले अन्य पालिकालाई पनि विपन्नको स्वास्थ्य सेवामा लगानी गर्न प्रोत्साहन दिएको उहाँको भनाइ छ ।