१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

पूर्वाधार र प्रचारप्रसारको अभावमा सिद्ध झरना ओझेलमा

पूर्वाधार र प्रचारप्रसारको अभावमा सिद्ध झरना ओझेलमा
अ अ+ अ-

मुस्ताङ। यहाँको थासाङ गाउँपालिका–४ स्थित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पर्यटक लोभ्याउने मनमोहक सिद्ध झरना पर्दछ । आवश्यक पूर्वाधार नहुनु तथा प्रचारप्रसारको अभावमा सिद्ध झरना ओझेलमा पर्दै आएको छ ।

म्याग्दी र मुस्ताङको प्रवेशद्वारका रूपमा रहेको थासाङ–४ घाँसागाउँको बीच भागमा पर्ने राष्ट्रिय राजमार्गको पञ्चिमतर्फको घनाजङ्गलसहितको पहाडबाट उक्त झरनाबाट जल प्रवाह भएको अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट करिब दुई हजार मिटर उचाइमा अवस्थित सिद्ध झरना प्राकृतिक रूपमा उत्पत्ति भएको स्थानीय बताउँछन् ।

प्रत्येक वर्ष एक पटक स्थानीयले यहाँ सिद्ध बराहको पूजाआजा गर्नाका साथै पशु बलि दिने प्रचलन रहेको स्थानीय पुनित गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार यो मनमोहक झरनालाई स्थानीय भाषामा ‘छेछेरे’ भन्ने गरिएको छ ।

झरनाको फेदमा बर्सेनि जेठको पूर्णिमा तिथिमा गाउँलेले सिद्ध बराहको सामूहिक पूजाआजा गरी बोका र भाले चढाएर पशु बलि दिने प्रचलन रहेको स्थानीय गौचनले बताउनुभयो । यसरी झरनामा पूजा गरी बलि दिने कार्यक्रममा प्रत्येक घरधुरीबाट एक÷एक जना अनिवार्य उपस्थिति हुनुपर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

आकर्षक र लोभलाग्दो तरिकाले प्रवाह भइरहने मनमोहक सिद्ध झरनासम्म पुग्ने मार्गसहित आवश्यक पूर्वाधार निर्माण नहुँदा र प्रचारप्रसारको अभावले ओझेलमा परेको स्थानीय गौचनले उल्लेख गर्नुभयो ।

बेनी—जोमसोम मार्गस्थित घाँसा बजारको मुख्य सडकबाट पैदलमार्फत पाँच मिनेटमा सहजै दृश्यावलोकन गर्न सकिने भए पनि मुस्ताङ भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई झरनाका बारेमा जानकारी नहुँदा ओझेलमा उहाँको भनाइ छ ।

यस झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकीय गतिविधि बढ्नाका साथै स्थानीयको आयआर्जन र रोजगारीका अवसर पनि वृद्धि हुने गौचनले धारणा राख्नुभयो । यहाँ पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक पहल भइरहेको जनाउँदै उहाँले झरना आसपासका क्षेत्रमा सिद्ध बराहपार्कसहित भौतिक संरचना निर्माण गर्नुपर्ने भएकाले स्थानीय र प्रदेश सरकारसँग बजेट माग गरिएको बताउनुभयो ।

“यहाँको झरनालाई व्यवस्थित गर्नेगरी योजना तयार गरेका छौँ । सर्वप्रथम आवश्यक स्रोत सुनिश्चित गर्नुपर्ने भएकाले बजेट खोजिरहेका छौँ”, स्थानीय गौचनले भन्नुभयो, “झरना नजिक पार्क निर्माण गर्ने, झरनाको महत्वसहित आवश्यक प्रचारप्रसारका लागि सूचना प्रवाह गर्ने उद्देश्यले ठाउँठाउँमा सूचना पाटी राख्ने तयारी भइरहेको छ । यसो गरियो भने, यहाँ पर्यटकको आकर्षण बढ्नाका साथै रोजगारीका अवसर पनि सृजना हुनेछन् ।”

झरना करिब दुई हजार मिटर उचाइमाथिको घनाजङ्गलसहित पहाडबाट प्रवाह भइरहन्छ । चैत र वैशाखमा झरनाको सतह केही कम हुने भए पनि साउन र भदौमा पानीको सतह उच्च हुने थासाङ–४ का पूर्ववडाध्यक्ष विशाल शेरचनले बताउनुभयो । यो झरना हिमनदी पग्लिएर नभई प्राकृतिक रूपमा उत्पत्ति भएको उहाँको भनाइ छ । उहाँका अनुसार झरनाको माथि चार वटाजति पानीका मुहान पनि छन् ।

चारैतिर पहाडले घेरिएको घाँस गाउँ मुस्ताङको पुछारको बस्ती हो । पाँच वर्षअघि हिमाली उपआयोजनाको अनुदान सहयोगमा झरनाको पानीबाट पोखरी निर्माण गरी माछापालन व्यवसाय सुरु गरिएको थियो ।

आवश्यक संरक्षण, पूर्वाधार र बजारीकरण नहुँदा हाल माछापालन पनि गर्न छाडिएको पूर्ववडाध्यक्ष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो घाँसाका स्थानीयले झरनाको पानीलाई खानेपानीका रूपमा प्रयोग गर्दै आएका छन् ।

घाँसा गाउँ नजिकै अवस्थित मनमोहक सुन्दर सिद्ध झरना आसपासका क्षेत्रमा वन्यजन्तु र विभिन्न पशुपन्छी अवलोकन गर्न सकिन्छ । बर्सेनि सात लाखभन्दा बढी पर्यटक मुस्ताङ भित्रिने भए पनि यो गाउँमा पर्यटकीय पूर्वाधारको अभाव हुँदा ओझेलमा पर्दै आइरहेको हो ।

केही वर्षअघि स्थानीय तहको सहयोग र समन्वयमा यहाँ कालिज फार्म सञ्चालन गर्ने तयारी गरिएको पनि पूर्णता पाउन नसकेको स्थानीय बताउँछन् । रासस