२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जैविक तटबन्धले जोगायो विद्यालय

जैविक तटबन्धले जोगायो विद्यालय
अ अ+ अ-

सिरहा । चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो । लहानको मुख्य बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित यो दुर्गम क्षेत्रमा वर्षायाम सुरु हुनासाथ बेतहा खोलाले रौद्र रूप लिँदा सबैको मनमा सधैँ डर हुन्थ्यो ।

हिउँदमा शान्त देखिने बेतहा खोला वर्षा सुरु हुनासाथ रौद्र रूप लिन्थ्यो र यसको प्रहार सिधै विद्यालयमाथि पथ्र्यो । “खोलाले किनारा कटान गर्दै जाँदा विद्यालय भवन नै जोखिममा परेको थियो । कुन बेला के हुने हो, थाहा नै हुन्न थियो,” विद्यालयका प्रधानाध्यापक सुन्दरलाल चौधरी विगत सम्झँदै भन्नुहुन्छ, “सारा विद्यार्थीको भविष्य अन्धकारमा धकेलिन लागेको थियो । वर्षा लागेपछि त विद्यालय नै बन्द गर्नुपथ्र्यो ।”

बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो । यस दुर्गम बस्तीको अस्तित्वलाई नै प्रश्नको घेरामा पुर्‍याइरहेको बेतहा खोलाले विद्यालय मात्र होइन, छेउमै रहेको स्थानीय स्वास्थ्य चौकीलाई पनि उत्तिकै जोखिमपूर्ण बनाएको थियो ।

नगरपालिकाले स्थानीयको सहजताका लागि एक स्वास्थ्यकर्मीसहित ढोडना स्वास्थ्य चौकीको एक शाखा यहाँ खोलेको थियो । तर, बाढी आएपछि औषधि, उपकरण र कर्मचारी सबै जोखिममा पर्थे । स्थानीयका लागि बनेको सुविधा बाढीको एक झट्कामै बन्द हुने डरले सधैँ घेरेको हुन्थ्यो ।

बेतहा बस्तीका बासिन्दालाई आफ्नो घर, विद्यालय र स्वास्थ्य सेवा जोगाउन प्रकृतिसँग हरेक वर्ष सङ्घर्ष गर्नुपर्ने बाध्यता थियो । यो वर्षको दृश्य फरक छ । बस्ती जोगाउने अभियान अब प्रकृति र स्थानीयबीचको सफल सहकार्य बनेको छ ।

करिब छ महिनाअघि लहान नगरपालिकाको समन्वयमा सुरु भएको संरक्षण परियोजनाले यहाँ नयाँ आशा जन्मायो, जैविक तटबन्ध । केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र गाउँलेको सामूहिक प्रयास तथा श्रमदानबाट यो तटबन्ध निर्माण गरिएको थियो ।

बर्खा सुरु हुनुअघि नै स्थानीय स्रोत साधनको उपयोग गर्दै बाँस, घाँस, बिरुवा र स्थानीय प्रजातिका बोटबिरुवा लगाएर नदी किनारलाई मजबुत बनाउने काम थालियो । सामुदायिक वन उपभोक्ता महासङ्घ ९फेकोफन० का कार्यक्रम अधिकृत टेकेन्द्र साह भन्नुहुन्छ, “जैविक तटबन्ध बनाउँदा खर्च कम हुने, दीर्घकालीन रूपमा माटो सम्हाल्ने क्षमता बढ्ने र वातावरण मैत्री हुने भएकाले हामीले यसलाई प्राथमिकता दिएका हौँ ।”

केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदिश भट्टकाअनुसार, यस परियोजनाअन्तर्गत बेतहा क्षेत्रमा तीनवटा जैविक तटबन्ध निर्माण गरिएको छ । उहाँ भन्नुहुन्छ, “संस्थाको तर्फबाट केही न्यूनतम बजेट र स्थानीयको श्रमदानबाट यस्ता जैविक तटबन्ध निर्माण गरिएका हुन्, जसले पहिरो नियन्त्रणमा पनि काम गरिरहेको छ ।” उहाँका अनुसार अन्य ठाउँमा पनि स्थानीयसँगको सहकार्यमा क्रमश जैविक तटबन्ध निर्माण गरिनेछ ।

यस प्रकारको तटबन्ध सफल अनि प्रभावकारी देखिएको वडा नं १५ का अध्यक्ष तेजनारायण चौधरीको भनाइ छ । उहाँ आफ्नो वडा बाढी, पहिरो र नदी कटानको बढी जोखिम क्षेत्र भएकाले अन्यन्त्र पनि यस्तै विधि अपनाई नियन्त्रण गर्न लागिपर्ने बताउनुहुन्छ ।

कटान रोक्न सकिने भएपछि स्थानीयको उत्साह झन् बढेको छ । वर्षौँदेखि खोला कटानको भयले असुरक्षित महसुस गर्दै आएका उनीहरू अहिले भने आत्मविश्वासका साथ भविष्य कल्पना गर्न थालेका छन् । “हामीले आफैंले बनाएको सुरक्षाले अब ढाडस दिएको छ,” स्थानीय विचारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर तामाङ्गले भन्नुभयो, “समुदायको श्रम र एकताको बलले खोलोलाई नियन्त्रण गर्न सकिने रहेछ भन्ने बुझ्यौँ । यसले हामीलाई हाम्रो बस्ती सुरक्षित रहन्छ भन्ने भरोसा दिलाएको छ ।”

जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सिरहाका सचिव रुद्र नारायण चौधरीका अनुसार, यस्ता जैविक तटबन्धले वर्षेनी दोहोरिने बाढी–पहिरोको जोखिम कम गर्नुका साथै वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीमा पनि सकारात्मक प्रभाव पार्छ ।  रासस