रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आज पेशी तोकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
यसअघि कात्तिक २० गतेको इजलासले सुरुको मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता पेशी तोकेपनि लामिछानेका कानून व्यवसायीले माग गरेपछि स्थगित भएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले लामिछाने र जोशी मुद्दा एकै साथ हेर्न आदेश दिएको थियो । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा रहेका छन् ।










