१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भित्रियो बाथरोगको प्रारम्भिक निदान गर्ने डायग्नोस्टिक किट



अ+ अ-

काठमाडौं । बाथरोगबारे प्रारम्भिक निदानका लागि डायग्नोस्टिक किट नेपाल भित्रिएको छ । यस्तो प्रविधि नेपालमा पहिलो पटक ल्याइएको हो ।

नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोष्टिक किट ल्याएको हो ।

सक्षम डायग्नोष्टिक मेसिन किट भित्रिएपछि बाथरोगबारे जानकारी लिन कुनै लक्षण कुर्नु नपर्ने नेक्स जेन ल्याब सोलुसनले जनाएको छ ।

समयमा बाथरोग र टाइप १ मधुमेह पत्ता लगाएर बाथरोगको निदान गर्न सकिन्छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा सो किटको शुभारम्भ गरिएको छ ।

यो किटले रोग प्रारम्भिक अवस्थामा नै पत्ता लगाउने र बिरामीलाई समयमै उपचार सुरु गर्न मद्दत पुयाउने छ ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले युरोपको चेक रिपब्लिकस्थित ‘होला वायोल्याब्स’ सँगको सहकार्यमा नेपाल ल्याउनुभएको हो ।

उहाँले नेपालमा धेरै बिरामी सामान्यतया रोगको गम्भीर अवस्था पुगिसकेपछि मात्र अस्पताल पुग्ने भन्दै त्यसबेलासम्म शरीरका अंगमा क्षति भइसकेको हुने बताउनुभयो ।

डा. वैद्यले रोग पत्ता लगाइसकेपछि उपचार लामो तथा महँगो हुने भन्दै उक्त मेसिनले प्रारम्भिक लक्षण पत्ता लगाउँदा बिरामीलाई सहज र प्रभावकारी उपचार प्राप्त गर्न सजिलो हुने बताउनुभयो।

कार्यक्रममा वाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यले डायग्नोष्टिक किट आरटी–पीसीआर प्रविधिमा आधारित रहेको जानकारी दिनुभयो ।

नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले भविष्यमा परीक्षणका लागि देशभरिका अस्पताल र स्वास्थ्य संस्थाहरूमा सहज उपलब्ध गराउने योजना बनाइएको बताउनुभयो ।

नेक्सजेन सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग वा टाइप–१ मधुमेहको शुरुवाती अवस्था नै पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ । रोगले गम्भीर रूप लिनु अघि नै रोकथाम गर्न सकिन्छ । उहाँले बिरामीलाई लामो समयसम्म औषधि सेवन गर्नबाट पनि जोगाउँने बताउनुभयो ।