२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण



अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ ।

पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताउनुभयो । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उहाँको भनाइ छ । “हाम्रो टोलमा तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “सिँचाइ अभावमा हामीले धेरै समस्या भोग्दै आएका थियौँ, अहिले सहजता भएको छ ।”

यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईले बताउनुभयो । वडाको पहलमा प्रदेशसँग बजेट माग गरेर पोखरी निर्माण गर्न सफल भएको उहाँको भनाइ छ । “सिँचाइ नहुँदा स्थानीयलाई समस्या थियो, यो चाँपे क्षेत्र तरकारीलगायत कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तर सिँचाइ अभावमा देखिएका समस्या अब भने अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

सडकको राम्रो पहँुच रहेकाले सिँचाइ पोखरी निर्माणले स्थानीयलाई नगदेबाली खेतीका लागि सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सिँचाइ विस्तार भएपछि यहाँका किसानले कृषिकर्म गरेर आयआर्जनमा जोडिने अवस्था बनेको उहाँको भनाइ छ । गाउँपालिकाभित्र रहेको कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारमा जोड दिएको उपाध्यक्ष राईले बताउनुभयो । सिँचाइका लागि मुहान नभएको ठाउँमा प्लाष्टिक पोखरी वितरण गरेर पनि किसानलाई आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

“हाम्रो गाउँपालिका खुक्खाग्रस्त क्षेत्रमा पर्दछ”, उपाध्यक्ष राईले भन्नुभयो, “तर पनि किसानलाई खेतीमा सहजता पुर्याउनका लागि सिँचाइ पोखरी, निर्माण प्लाष्टिक पोखरी वितरणलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।” पोखरी निर्माणले स्थानीयलाई तरकारीखेती गर्नका लागि सहजता भएको स्थानीयवासी भरतबहादुर कार्कीले बताउनुभयो । पोखरीको पानी प्रयोग गरेर आफूले तरकारी तथा नगदेबालीको खेती गरिरहेको उहाँको भनाइ छ । रासस