काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हराएको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा ९४ रनमा अलआउट भयो ।
उसका लागि पवन सर्राफले २७ रन बनाउँदा मार्क वाटले १७, सोमपाल कामीले १४, अर्जुन घर्ती र गुलशन झाले १३–१३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले चार, हरमित सिंह र अभिनाश बोहराले दुई–दुई विकेट लिँदा स्कट कुगलाईनले एक सफलता हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो ।
उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन जोडे । यस्तै, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिश लिनले १८, बिनोद बण्डारीले ११ रन बनाए ।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई तथा मार्क वाट, बिपिन शमा र युवराज खत्रीले एक–एक सफलता हात पारे ।
सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।
कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।









