काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पहिलो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको हो । १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मार्क वाटले शतकीय इनिङ्स खेले । जारी प्रतियोगितामा वाटले मात्र शतक बनाएका छन् । वाट ११४ रनमा अविजित रहे । ४४ बल खेलेका उनले १२ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै, विलियम बोसिस्टो २९ रनमा अविजित रहँदा प्रियांक पाञचालले १२ रन जोडे । बलिङतर्फ एकमात्र विकेट शेर मल्लले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन जोड्यो ।
उसका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, बिपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए ।
यसअघिको खेलमा कर्णाली चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई नै ६ विकेटले हराएको थियो ।









