काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गिरीले नीतुको आत्मदाहमा आफू जिम्मेवार रहेको स्वीकारेका छन्।
स्रोतका अनुसार, बाबुल र नीतु केही समयदेखि प्रेम सम्बन्धमा थिए। अदालतमा दिएका बयानमा गिरीले प्रेमिकाको चाहना समयमै गम्भीरतापूर्वक नलिनु नै आत्मदाहको कारण भएको स्वीकार गरेका थिए।
अदालतले प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थालाई ध्यानमा राख्दै मुद्दाको पुर्पक्षका लागि धरौटीमा रिहा गर्न आदेश दिएको हो।
घटना कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा भएको थियो, जब गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्।
उनको उपचार बर्न अस्पताल, कीर्तिपुरमा गरिएको थियो, तर कात्तिक ७ गते उपचारको क्रममा उनको निधन भएको थियो।
पौडेलको निधनपछि गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए।










