३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’



अ+ अ-

कर्णाली । नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।”

शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत म्योससहित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सम्बद्ध टोलीले मध्यपश्चिम विश्वविद्यालय परिवारसँग पहिलोपटक अन्तरसंवाद गर्न पाउँदा खुसी लागेको बताएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले उच्च शिक्षा विकासका लागि अनुसन्धान तथा क्षमता विकासमा नर्वेजियन कार्यक्रम (नोरहेड–दोस्रो) अन्तर्गत सञ्चालित बिल्डिङ इन्क्लुसिभ एजुकेसन इन नेपाल ९बीआइईपिएन० परियोजनाबाट प्राप्त उपलब्धि र प्रभावप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो । ओस्लोमेट–ओस्लो मेट्रोपोलिटन विश्वविद्यालयको नेतृत्वमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ एप्लाइड साइन्सेज, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको साझेदारीमा अघि बढाइएको यो प्रमुख परियोजनाले समावेशी शिक्षा तथा विशेष शिक्षाका क्षेत्रमा शैक्षिक र संस्थागत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको उपकुलपति प्रा डा गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस साझेदारीले प्रमाण–आधारित शिक्षण, उच्च गुणस्तरीय अनुसन्धान र नीतिगत पैरवीमा विश्वविद्यालयको आधारलाई उल्लेखनीय रूपमा सुदृढ गरेको छ । परियोजनाले समावेशी शिक्षामा दक्ष, सक्षम र दिगो प्रभाव पार्ने जनशक्ति उत्पादन गर्ने मजबुत संरचना तयार गरेको छ ।” समावेशी र समान शिक्षा सुनिश्चित गर्न दिगो विकास लक्ष्य ४ र १० सँग मेल खाने अन्तरराष्ट्रिय सहकार्यलाई उपकुलपति प्रा डा गौतमले उत्कृष्ट नमूनाका रूपमा प्रस्तुत गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयले २०२६ मा अन्तरराष्ट्रिय समावेशी शिक्षा सम्मेलन आयोजना गर्ने तयारीका साथै नर्वेजियन साझेदारहरूसँग संयुक्त परियोजना तथा शैक्षिक आदानप्रदानका नयाँ सम्भावना खोज्न इच्छुक रहेको उहाँको भनाइ थियो । उपकुलपति प्रा डा गौतमले नेपाल र नर्वेबीचको सम्बन्ध मित्रता एवं सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित भएको बताउँदै मानव विकास सूचकाङ्कका हिसाबले निकै पछि परेको कर्णालीको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको जनाउनुभयो ।

सन् १९७३ मा दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नर्वे नेपालका लागि शिक्षा, मानवअधिकार, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्दै आएको एक विश्वासिलो विकास साझेदार देश भएकाले पनि नर्वेली राजदूत म्योसले विश्वविद्यालयसँग गरेको अन्तरसंवादलाई अर्थपूर्ण रूपमा लिएको नोरहेड–दोस्रो परियोजना संयोजक एवं मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्का जानकारी दिनुभयो ।

उक्त अन्तरसंवाद कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाखर कँडेल, अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त जानकारी, यसले सञ्चालन गर्दै आएका कार्यक्रम तथा शैक्षिक उपलब्धिका बारेमा प्रस्तुति राख्नुभएको थियो । रासस