१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल दर्ताको होडबाजीप्रति मन्त्री पुनको असन्तुष्टि, भन्छन्– ‘आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्’



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दल दर्ताको होडबाजीप्रति असन्तुष्टि जनाएका छन् । उनले जेन–जी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्ट बनेका हुन् ।

मन्त्री पुनले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले आक्रोस व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै मन्त्री पुनले फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने चेतावनी दिएका छन् ।

उनले जेनजीहरूले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । उनले लेखेका छन् ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।’

उनले लेखेका छन्–

हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफुलाई पुर्ने खाल्डो आफै खन्दैछन संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भईन्छ। नेपालीहरु फुट्ने र सानोतिनो कुराहरुमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ। यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ। जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउँछन ।