२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित एनपीएल आजदेखि, प्रतिस्पर्धी ८ टिम को–कस्ता ?



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएल हुन लागेको हो ।

प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।

प्रतियोगितामा सहभागी ८ टिम सहभागी हुने छन् । प्रत्येक टोलीले ११–११ नेपाली खेलाडी अनुबन्ध गरेका छन् । सबै टोलीले एकएक आइकोनिक खेलाडी छनोट गरेका छन् भने ४ विदेशी खेलाडी टोलीले भित्राएका छन् । अधिकांश टोलीले फ्लड लाइटमै पुगेर प्रशिक्षणसमेत गरिसकेका छन् ।

कुन टिम कस्ता ?

विराटनगर किंग्स

दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई भित्राएर चर्चामा आएको विराटनगर किंग्सलाई विजेता प्रशिक्षक पुबुदु दासानायकेको साथ छ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले यसपटक विदेशी खेलाडी तथा प्रशिक्षक लिन कुनै कसर बाँकी राखेको छैन । बिराटनगरको ब्याटिङ लाइनअप सुदृढ र बलिङ पनि सन्तुलित देखिन्छ ।

पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाएका पुबुदलाई यसपटक विराटनगरले भित्राएको छ । खेलाडीमा पनि फाफदेखि मार्टिन गप्टिल, मच्र्यान्ट डी ल्याङ्गे, जर्ज मन्से, शुभम रञ्जने र साम हिजलेटलाई विराटनगरले अनुबन्ध गरेको छ ।

उनीहरुलाई सन्दीपसहित लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, प्रतिश जिसीसहितका नेपाली खेलाडीले साथ दिनेछन् । यस्तै नेपाली खेलाडीको रुपमा नारायण जोशी, श्रावण किस्कु, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, र सूर्य तामाङ पनि रहनेछन् ।

जनकपुर बोल्ट्स

गत संस्करणको विजेता जनकपुर बोल्ट्स यसपटक पनि विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । जनकपुरले च्याम्पियन प्रशिक्षक परिवर्तन गरेको छ । जनकपुरले यसपटक वेष्ट इन्डिजका महान खेलाडी शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षकको रुपमा भित्राएको छ ।

पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका लाहिरु मिलन्थासहित निकोल लोफ्टी–ईटन, वायन पार्नेल, इमरान ताहिर र लाहिरु समरकून विदेशी खेलाडीको रुपमा भित्रिएका छन् । नामिबियाका निकोल ब्याटिङ अलराउन्डर हुन् । वायन दक्षिण अफ्रिकाका तीब्र गतिका बलर र ताहिर दक्षिण अफ्रिकीकै भेट्रान स्पीनर हुन् । श्रीलंकाको राष्ट्रिय टोलीबाट एक खेल खेलेका समरकून अलराउन्डर हुन् ।

विदेशी खेलाडीहरुसँगै अनिलकुमार शाह र आसिफ शेखले जनकपुरको टपअर्डर सम्हाल्नेछन् । उनीहरुलाई विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, आदित्य महाता, किशोर महतो, ललित राजवंशी, रुपेश सिंह, इमरान ताहिर र मयन यादवले साथ दिनेछन् ।

चितवन राइनोज

गत संस्करणमा प्लेअफसम्म स्थान बनाएको चितवन राइनोजले दुई अनुभवी विदेशी खेलाडीलाई निरन्तरता दिएको छ । चितवनले पहिलो सिजनमा राम्रो प्रदर्शन गरेका रबि बोपारा र सोहेल तनविरलाई निरन्तरता दिएको हो । यस्तै पहिलो सिजन सुदुरपश्चिम रोयल्सबाट खेलेका सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीलाई विदेशी खेलाडीको रुपमा भित्राएको छ ।

मलान इंग्ल्याण्डबाट विश्वकप खेलिसकेका खेलाडी हुन् । टपअर्डर ब्याटर मलानले ६ वर्ष इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । अल्पेस युगान्डाका अलराउण्डर हुन् ।

चितवनमा कुशल मल्लसहित देव खनाल, विपिन रावल, रञ्जित कुमार, अर्जुन साउद, दीपक बोहराले ब्याटिङ सम्हाल्नेछन् । बलिङमा कमल सिंह ऐरी, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी र अमरसिंह रौटेला रहनेछन् ।

काठमाण्डु गोर्खाज

मिनी अक्सनमा सबै टोलीले चाहेको एक मात्र खेलाडी भित्राउने सौभाग्य प्राप्त गरेको टोली हो काठमाण्डु गोर्खाज । काठमाण्डुले नेपाली राष्ट्रिय टोलीको सफल प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षकको रुपमा भित्राएको छ ।

काठमाडौंसँग अन्य टिमजस्तो ठूला नामहरु छैनन् । पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नामिबियाका कप्तान जेरार्ड एरासमसलाई निरन्तरलाई दिँदा थप ५ खेलाडी नयाँ भित्राएको छ । काठमाण्डुले इंग्ल्याण्ड जोन सिम्पसन, इंग्ल्याण्डकै बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेललाई विदेशी खेलाडीकोउ कोटामा ल्याएको हो । जोन र रिकार्डाे विकेटकिपर ब्याटर हुन् । मिलिन्द अलराण्डर, पटेल ब्याटिङ अलराउन्डर हुन् ।

अक्सनमा सर्वप्रिय मोहम्मद आदिल आलमलाई भित्राएको काठमाण्डुको स्वदेशी खेलाडी ब्याटरहरु रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिनेछन् । बलिङमा करण केसीसहित शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापा रहनेछन् । कागजमा काठमाण्डु औसत टिम देखिन्छ ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सले यसपटक ठूला विदेशी नाम भित्राएको छ । पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाएका जिम्मी निशमलाई पोखराले अनुबन्ध गर्यो । यस्तै पहिलो संस्करणका रेमन राइफरलाई निरन्तरता दिँदा इंग्ल्याण्डका जेसन रोय, एडम रोसिङ्टन र डन डाउथवेटलाई भित्राएको छ । इंग्ल्याण्डका रोय उत्कृष्ट ओपनिङ ब्याटर हुन् । इंग्ल्याण्डकै एडम विकेटकिपर र डान बलिङ अलराउन्डर हुन् ।

कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, अर्जुन कुमाल, त्रितराज दास, किरण ठगुन्ना, कृष्ण पौडेल र सन्दीप पौडेल ब्याटिङमा रहनेछन् । बलिङमा आकाश चन्द, सागर ढकाल, विपिन खत्री, अभिषेक तिवारीले साथ दिनेछन् । पोखराको बलिङ सामान्य र ब्याटिङ पंति सुदृढ छ ।

लुम्बिनी लायन्स

पहिलो संस्करणमा एक मात्र जित निकालेको लुम्बिनी लायन्सलाई पुरानो नतिजा बिर्सिएर उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । राष्ट्रिय टोलीको कप्तान रोहित पौडेल मार्की प्लेयर रहेको लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटदेखि अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबसम्मलाई विदेशी खेलाडीको रुपमा भित्राएको छ ।

करिब २ वर्ष अष्टे«लियाको टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका डार्सी ओपनिङ ब्याटर हुन् । अफगानिस्तानका ब्याटिङ अलराउन्डर गुल्बदिन सन् २०११ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले ब्याटिङ र बलिङमा मोमेन्टम ल्याउने क्षमता राख्छन् । तर उनले लुम्बिनीबाट ५ खेलमात्र खेल्नेछन् ।

इटलीका पेस बलर थोमस ड्राका, नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानलाई पनि लुम्बिनीले अनुबन्ध गरेको छ । नामिबियाको टी–२० खेलमा कप्तानी गरिसकेका जेजे बलिङ अलराउन्डर हुन् । २७ वर्षीय रुबेन पेस बलर हुन् ।

लुम्बिनीसँग रोहित पौडेल र सन्दीप जोराका रुपमा दुई उत्कृष्ट स्वदेशी ब्याटर छन् । उनीहरुसहित लुम्बिनीको लाइनअपमा दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथ (विकेटकिपर) र विशाल पटेल रहेका छन् ।

कर्णाली याक्स

पहिलो संस्करणमा भारतीय खेलाडी शिखर धवनलाई भित्राएर ठूलो चर्चा पाएको टोली हो, कर्णाली याक्स । धवनको औसत प्रदर्शन मात्र गरेको कर्णाली पहिलो संस्करणमा तेस्रो बनेको थियो ।

यसपटक कर्णालीले अष्टे«लियाका विलियम बोसिस्टोदेखि भारतका प्रियांक पञ्चाललाई भित्राएको छ । विलियमले पहिलो संस्करणमा कर्णालीबाट राम्रो प्रदर्शन गरेका थिए । अष्टे«लियाको यु–१९ टोलीको कप्तानीसमेत गरिसकेका उनी अलराउण्डर हुन् । गुजरातबाट रणजी ट्रफी खेलेका प्रियांकले कर्णालीबाट खेल्नेछन् । कर्णालीले उनलाई ओपनिङ ब्याटरको रुपमा भित्राएको हो ।

अफगानिस्तानका नाजिबउल्लाह जद्रान, नेदरल्याण्ड्सका अनुभवी ब्याटर म्याक्स ओ’डाउड र स्कटल्याण्डका बलर मार्क वाट कर्णालीमा अनुबन्ध भएका छन् । अफगानिस्तानका ३२ वर्षीय नाजिबउल्लाह मिडलअर्डर ब्याटर हुन् । उनले सन् २०१२ देखि २०२४ सम्म अफगानिस्तानबाट खेलेका थिए । नेदरल्याण्ड्सका ओपनिङ ब्याटर हुन् म्याक्स । उनले सन् २०१९ देखि नेदरल्याण्ड्सबाट लगातार खेलिरहेका छन् । मार्क स्कटल्याण्डका एक उत्कृष्ट बलर हुन् । उनले सन् २०१६ बाट निरन्तर स्कटल्याण्डबाट खेल्दै आएका छन् ।

नेपाली राष्ट्रिय टिमका तीन फास्ट बलर सोमपाल कामी, नन्दन यादव र गुल्शन झा लुम्बिनीसँग छन् । स्पिन डिपार्ट पनि शसक्त छ, जहाँ युवराज खत्री र विपिन शर्मा जस्ता युवा स्पिनरहरुका साथमा कप्तान रोहित र पवन सर्राफको पनि साथ रहनेछ । समग्रमा कर्णालीको बलिङ प्रतियोगितामै सबैभन्दा धारिलो देखिन्छ ।

सुदूरपश्चिम रोयल्स

पहिलो संस्करणको उपविजेता टोली हो, सुदुरपश्चिम रोयल्स । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदुरपश्चिम फाइनलमा पराजित हुँदै उपाधि हात पार्न चुक्यो । यसपटक भने उपाधिमा कब्जा जमाएरै छोड्ने सुदूरपश्चिमको दाउ छ ।

पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाबाट खेल्दै आएका हर्मीत सिंहलाई सुदूरपश्चिमले यसपटक पनि निरन्तरता दिएको छ । यस्तै अष्टे«लियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । ३१ वर्षीय ब्याटर जोशले विग ब्यास लिग, बंगलादेश प्रिमियर लिग जस्ता लिग खेलेका छन् । ३५ वर्षिय क्रिससँग विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ ।

सुदूरपश्चिममा दीपेन्द्रसिह ऐरीसहित विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत नरेन साउद, आरिफ शेख र दीपेन्द्र थापा छन् । सुदुरपश्चिमको सबैभन्दा बढी आशा कप्तान ऐरीमै टिकेको छ ।