काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएल हुन लागेको हो ।
प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।
प्रतियोगितामा सहभागी ८ टिम सहभागी हुने छन् । प्रत्येक टोलीले ११–११ नेपाली खेलाडी अनुबन्ध गरेका छन् । सबै टोलीले एकएक आइकोनिक खेलाडी छनोट गरेका छन् भने ४ विदेशी खेलाडी टोलीले भित्राएका छन् । अधिकांश टोलीले फ्लड लाइटमै पुगेर प्रशिक्षणसमेत गरिसकेका छन् ।
कुन टिम कस्ता ?
विराटनगर किंग्स
दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई भित्राएर चर्चामा आएको विराटनगर किंग्सलाई विजेता प्रशिक्षक पुबुदु दासानायकेको साथ छ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले यसपटक विदेशी खेलाडी तथा प्रशिक्षक लिन कुनै कसर बाँकी राखेको छैन । बिराटनगरको ब्याटिङ लाइनअप सुदृढ र बलिङ पनि सन्तुलित देखिन्छ ।
पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाएका पुबुदलाई यसपटक विराटनगरले भित्राएको छ । खेलाडीमा पनि फाफदेखि मार्टिन गप्टिल, मच्र्यान्ट डी ल्याङ्गे, जर्ज मन्से, शुभम रञ्जने र साम हिजलेटलाई विराटनगरले अनुबन्ध गरेको छ ।
उनीहरुलाई सन्दीपसहित लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, प्रतिश जिसीसहितका नेपाली खेलाडीले साथ दिनेछन् । यस्तै नेपाली खेलाडीको रुपमा नारायण जोशी, श्रावण किस्कु, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, र सूर्य तामाङ पनि रहनेछन् ।
जनकपुर बोल्ट्स
गत संस्करणको विजेता जनकपुर बोल्ट्स यसपटक पनि विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । जनकपुरले च्याम्पियन प्रशिक्षक परिवर्तन गरेको छ । जनकपुरले यसपटक वेष्ट इन्डिजका महान खेलाडी शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षकको रुपमा भित्राएको छ ।
पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका लाहिरु मिलन्थासहित निकोल लोफ्टी–ईटन, वायन पार्नेल, इमरान ताहिर र लाहिरु समरकून विदेशी खेलाडीको रुपमा भित्रिएका छन् । नामिबियाका निकोल ब्याटिङ अलराउन्डर हुन् । वायन दक्षिण अफ्रिकाका तीब्र गतिका बलर र ताहिर दक्षिण अफ्रिकीकै भेट्रान स्पीनर हुन् । श्रीलंकाको राष्ट्रिय टोलीबाट एक खेल खेलेका समरकून अलराउन्डर हुन् ।
विदेशी खेलाडीहरुसँगै अनिलकुमार शाह र आसिफ शेखले जनकपुरको टपअर्डर सम्हाल्नेछन् । उनीहरुलाई विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, आदित्य महाता, किशोर महतो, ललित राजवंशी, रुपेश सिंह, इमरान ताहिर र मयन यादवले साथ दिनेछन् ।
चितवन राइनोज
गत संस्करणमा प्लेअफसम्म स्थान बनाएको चितवन राइनोजले दुई अनुभवी विदेशी खेलाडीलाई निरन्तरता दिएको छ । चितवनले पहिलो सिजनमा राम्रो प्रदर्शन गरेका रबि बोपारा र सोहेल तनविरलाई निरन्तरता दिएको हो । यस्तै पहिलो सिजन सुदुरपश्चिम रोयल्सबाट खेलेका सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीलाई विदेशी खेलाडीको रुपमा भित्राएको छ ।
मलान इंग्ल्याण्डबाट विश्वकप खेलिसकेका खेलाडी हुन् । टपअर्डर ब्याटर मलानले ६ वर्ष इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । अल्पेस युगान्डाका अलराउण्डर हुन् ।
चितवनमा कुशल मल्लसहित देव खनाल, विपिन रावल, रञ्जित कुमार, अर्जुन साउद, दीपक बोहराले ब्याटिङ सम्हाल्नेछन् । बलिङमा कमल सिंह ऐरी, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी र अमरसिंह रौटेला रहनेछन् ।
काठमाण्डु गोर्खाज
मिनी अक्सनमा सबै टोलीले चाहेको एक मात्र खेलाडी भित्राउने सौभाग्य प्राप्त गरेको टोली हो काठमाण्डु गोर्खाज । काठमाण्डुले नेपाली राष्ट्रिय टोलीको सफल प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षकको रुपमा भित्राएको छ ।
काठमाडौंसँग अन्य टिमजस्तो ठूला नामहरु छैनन् । पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नामिबियाका कप्तान जेरार्ड एरासमसलाई निरन्तरलाई दिँदा थप ५ खेलाडी नयाँ भित्राएको छ । काठमाण्डुले इंग्ल्याण्ड जोन सिम्पसन, इंग्ल्याण्डकै बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेललाई विदेशी खेलाडीकोउ कोटामा ल्याएको हो । जोन र रिकार्डाे विकेटकिपर ब्याटर हुन् । मिलिन्द अलराण्डर, पटेल ब्याटिङ अलराउन्डर हुन् ।
अक्सनमा सर्वप्रिय मोहम्मद आदिल आलमलाई भित्राएको काठमाण्डुको स्वदेशी खेलाडी ब्याटरहरु रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिनेछन् । बलिङमा करण केसीसहित शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापा रहनेछन् । कागजमा काठमाण्डु औसत टिम देखिन्छ ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले यसपटक ठूला विदेशी नाम भित्राएको छ । पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाएका जिम्मी निशमलाई पोखराले अनुबन्ध गर्यो । यस्तै पहिलो संस्करणका रेमन राइफरलाई निरन्तरता दिँदा इंग्ल्याण्डका जेसन रोय, एडम रोसिङ्टन र डन डाउथवेटलाई भित्राएको छ । इंग्ल्याण्डका रोय उत्कृष्ट ओपनिङ ब्याटर हुन् । इंग्ल्याण्डकै एडम विकेटकिपर र डान बलिङ अलराउन्डर हुन् ।
कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, अर्जुन कुमाल, त्रितराज दास, किरण ठगुन्ना, कृष्ण पौडेल र सन्दीप पौडेल ब्याटिङमा रहनेछन् । बलिङमा आकाश चन्द, सागर ढकाल, विपिन खत्री, अभिषेक तिवारीले साथ दिनेछन् । पोखराको बलिङ सामान्य र ब्याटिङ पंति सुदृढ छ ।
लुम्बिनी लायन्स
पहिलो संस्करणमा एक मात्र जित निकालेको लुम्बिनी लायन्सलाई पुरानो नतिजा बिर्सिएर उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । राष्ट्रिय टोलीको कप्तान रोहित पौडेल मार्की प्लेयर रहेको लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटदेखि अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबसम्मलाई विदेशी खेलाडीको रुपमा भित्राएको छ ।
करिब २ वर्ष अष्टे«लियाको टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका डार्सी ओपनिङ ब्याटर हुन् । अफगानिस्तानका ब्याटिङ अलराउन्डर गुल्बदिन सन् २०११ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले ब्याटिङ र बलिङमा मोमेन्टम ल्याउने क्षमता राख्छन् । तर उनले लुम्बिनीबाट ५ खेलमात्र खेल्नेछन् ।
इटलीका पेस बलर थोमस ड्राका, नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानलाई पनि लुम्बिनीले अनुबन्ध गरेको छ । नामिबियाको टी–२० खेलमा कप्तानी गरिसकेका जेजे बलिङ अलराउन्डर हुन् । २७ वर्षीय रुबेन पेस बलर हुन् ।
लुम्बिनीसँग रोहित पौडेल र सन्दीप जोराका रुपमा दुई उत्कृष्ट स्वदेशी ब्याटर छन् । उनीहरुसहित लुम्बिनीको लाइनअपमा दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथ (विकेटकिपर) र विशाल पटेल रहेका छन् ।
कर्णाली याक्स
पहिलो संस्करणमा भारतीय खेलाडी शिखर धवनलाई भित्राएर ठूलो चर्चा पाएको टोली हो, कर्णाली याक्स । धवनको औसत प्रदर्शन मात्र गरेको कर्णाली पहिलो संस्करणमा तेस्रो बनेको थियो ।
यसपटक कर्णालीले अष्टे«लियाका विलियम बोसिस्टोदेखि भारतका प्रियांक पञ्चाललाई भित्राएको छ । विलियमले पहिलो संस्करणमा कर्णालीबाट राम्रो प्रदर्शन गरेका थिए । अष्टे«लियाको यु–१९ टोलीको कप्तानीसमेत गरिसकेका उनी अलराउण्डर हुन् । गुजरातबाट रणजी ट्रफी खेलेका प्रियांकले कर्णालीबाट खेल्नेछन् । कर्णालीले उनलाई ओपनिङ ब्याटरको रुपमा भित्राएको हो ।
अफगानिस्तानका नाजिबउल्लाह जद्रान, नेदरल्याण्ड्सका अनुभवी ब्याटर म्याक्स ओ’डाउड र स्कटल्याण्डका बलर मार्क वाट कर्णालीमा अनुबन्ध भएका छन् । अफगानिस्तानका ३२ वर्षीय नाजिबउल्लाह मिडलअर्डर ब्याटर हुन् । उनले सन् २०१२ देखि २०२४ सम्म अफगानिस्तानबाट खेलेका थिए । नेदरल्याण्ड्सका ओपनिङ ब्याटर हुन् म्याक्स । उनले सन् २०१९ देखि नेदरल्याण्ड्सबाट लगातार खेलिरहेका छन् । मार्क स्कटल्याण्डका एक उत्कृष्ट बलर हुन् । उनले सन् २०१६ बाट निरन्तर स्कटल्याण्डबाट खेल्दै आएका छन् ।
नेपाली राष्ट्रिय टिमका तीन फास्ट बलर सोमपाल कामी, नन्दन यादव र गुल्शन झा लुम्बिनीसँग छन् । स्पिन डिपार्ट पनि शसक्त छ, जहाँ युवराज खत्री र विपिन शर्मा जस्ता युवा स्पिनरहरुका साथमा कप्तान रोहित र पवन सर्राफको पनि साथ रहनेछ । समग्रमा कर्णालीको बलिङ प्रतियोगितामै सबैभन्दा धारिलो देखिन्छ ।
सुदूरपश्चिम रोयल्स
पहिलो संस्करणको उपविजेता टोली हो, सुदुरपश्चिम रोयल्स । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदुरपश्चिम फाइनलमा पराजित हुँदै उपाधि हात पार्न चुक्यो । यसपटक भने उपाधिमा कब्जा जमाएरै छोड्ने सुदूरपश्चिमको दाउ छ ।
पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाबाट खेल्दै आएका हर्मीत सिंहलाई सुदूरपश्चिमले यसपटक पनि निरन्तरता दिएको छ । यस्तै अष्टे«लियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । ३१ वर्षीय ब्याटर जोशले विग ब्यास लिग, बंगलादेश प्रिमियर लिग जस्ता लिग खेलेका छन् । ३५ वर्षिय क्रिससँग विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ ।
सुदूरपश्चिममा दीपेन्द्रसिह ऐरीसहित विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत नरेन साउद, आरिफ शेख र दीपेन्द्र थापा छन् । सुदुरपश्चिमको सबैभन्दा बढी आशा कप्तान ऐरीमै टिकेको छ ।










