काठमाडौं । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम बिस्फोटमा प्रहरीमाथि नै आशंका गरिएको एक सत्तारुढ दलकै नेताको दाबी छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सो आशंका गरेका हुन् । त्यो पनि उनले कुनै अनौपचारिक कुराकानीका रुपमा नभएर संसदमै आवाज उठाएर । उनले यस विषयमा उच्चस्तरीय छानबिन गर्न माग समेत गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अधिकारीले प्रहरीमाथि नै शंका व्यक्त गरेका हुन् । भक्तपुरको मनहराफाँटस्थित बाँस्कोटाको घरमा बुधबार विप्लव समूहले बम बिस्फोट गराएको थियो ।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भने, माननीय सदस्य गोकुल बाँस्कोटाको घरमा बिस्फोट भएको छ । हामीलाई पूर्वअनुमान थियो प्रहरीले भन्छ । पुिलसलाई पूर्वअनुमान थियो भने को–को संलग्न छन् ? या पुलिस नै त त्यहाँ छैन संलग्न ? त्यो समेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्दछु ।’ उनले यो बम विस्फोटनको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको पनि संसदमा बताएका छन् ।
उक्त बम विप्लवका कार्यकर्ताले विस्फोट गराएको अनुमान प्रहरीको छ ।