१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै आज एमालेको देशैभर सभा



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आज देशैभरी जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांस जिल्ला सदरमुकाम वा ठूला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा ब्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ ।

आजको सभाबाट हामी एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौं’ गौतमले भन्नुभयो ।

गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरी वडा भेला भएको छ ।

२५ गते अधिकांश पालिकाहरुमा जनप्रदर्शन तथा र्‍यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरु जनसभा हुँदैछन् ।

जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिनुभयो ।

आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नुहुनेछ भने उपमहासचिव प्रदिप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुहुनेछ ।

यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ ।

कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।