काठमाडौं । संगीतकार तथा गायक अनिल अधिकारीले आफ्नो नवीनतम सिर्जना ‘कसले भनेको’ सार्वजनिक गरेका छन् ।
आफ्नै शब्द तथा संगीतमा तयार भएको यो गीत अनिल अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा अनिल अधिकारीलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
जीवनप्रतिको उत्साह, सकारात्मक सोच र प्रेमभावलाई रमाइला शब्द र सहज लयमा प्रस्तुत गरिएको यो गीतको एरेन्जर सारिता राई हुन् । गीतको भिडियो निर्देशन नवेश खड्काले गरेका छन् भने छायांकन उद्धव दाहालले सम्हालेका छन् ।
भिडियोमा पछिल्लो समय चलचित्र क्षेत्रमा लोकप्रियता कमाएकी सानिसा भट्टराईले आकर्षक नृत्य–अभिनय प्रस्तुत गरेकी छन् ।
उनलाई आशिर्वाद क्षेत्री र स्वयं अनिल अधिकारीले साथ दिएका छन् । नेवारी कला–संस्कृति, परम्परागत पोसाक र पुरातन वास्तुकलाका झल्काहरू समेटिएको भिडियोले गीतलाई थप सांस्कृतिक गहिराइ प्रदान गरेको छ ।
नेपाली संगीत क्षेत्रमा निरन्तर मौलिकता र भावना पोख्ने सर्जकका रूपमा स्थापित अधिकारीका ‘साझको बतासले’, ‘सम्झ त्यो दिन’जस्ता गीतहरू पहिले नै चर्चित भइसकेका छन् ।
दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै उनले भने, “मेरा गीतलाई दर्शकले दिएको माया मेरो ठूलो प्रेरणा हो । ‘कस्ले भनेको’ले सबैमा नयाँ ऊर्जा र खुसी फैलाओस् भन्ने आशा छ ।”
संगीत, शब्द, स्वर र मनमोहक दृश्य संयोजनले चम्किएको ‘कसले भनेको’ले नेपाली संगीत बजारमा ताजगी र उमंगको नयाँ अनुभूति ल्याउने आशा व्यक्त गरिएको छ ।










