१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस–सुन्तली किन रुदै हिँड्न बाध्य छन् ?



अ+ अ-

काठमाडौं । कुनै व्यक्तिले महत्वाकांक्षी योजना बनाएर देश र समाजलाई केही योगदान गर्छु भनेर अघि बढे पक्कै पनि सरकारले पनि सहयोग गर्छ भन्ने आम बुझाइ हो । तर एउटा सपना बोकेर कामसमेत सुरु गरिसकेका कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई त्यही योजना घाँडो मात्र भएको छैन, कुन बेला जीवन नै समाप्त होला भन्ने अवस्थामा पुर्‍याएको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको महत्वाकांक्षी योजना बनाएका धुर्मुस–सुन्तलीको जोडी एकपछि अर्को परिवन्दमा फसेका छन् । उनीहरुको वास्तविक पीडा सरकारले बुझ्नै सकेको छैन । या बुझेर पनि बुच पचाएर बसेको छ । राज्यका अनेक निकायमा धाइरहँदा पनि उनीहरुले हैरानी कम हुनु त कता हो कता झन् बढ्दै गएको छ ।

रंगशाला निर्माण गर्दा लागेको रकम तिर्न नसकेपछि अहिले पनि उनीहरु सिंहदरबार धाइरहेका छन् । हातभरी फाइल बोकेर सिंहदरबारका कोठा–कोठमा पुग्दा पनि राज्यले सुनेको छैन ।

क्रिकेट रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख रुपैयाँ संकलन गरेका धुर्मुस–सुन्तलीले हाल १८ करोड ४३ लाख रुपैयाँ तिर्नुपर्ने छ । सोही रकमका लागि उनीहरू भोक, प्यास नभनी राज्यका निकायहरूमा दौडधुप गरिरहेका छन् ।

धुर्मुसले रंगशाला निर्माणको आय–व्यव सार्वजनिक गर्दै भनेका छन्, ‘५७ करोड ९२ लाख खर्च भनिएको छ । हो त्यही हो वास्तविक खर्च । १८ करोड ४३ लाख तिर्नुपर्ने हो । उधारो हो, त्यही हो तिर्नुपर्ने हिसाब । ३९ करोड ८० लाख नगद जिन्सी गरेर रकम संकलन गरेका हौँ हामीले । कहीँ लुकाउन खोजेका होइनौँ, छिपाउन खोजेका होइनौँ ।’

अहिले धर्मुस मानसिक रुपमा पनि तनावमा छन् । देश र जनताका लागि सुरु गरेका योजना नै अहिले निल्नु न ओकल्नु भएको छ । उनको बास अधिकांश समय घरबाहिर नै हुने गरेको छ । कहिले सिंहदरबार त कहिले पुल्चोक अनि कहिले भरतपुर धाइरहेका धुर्मुसलाई राज्यले किन पीडा दिइरहेको छ बुझिनसक्नु छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित कृषि क्याम्पसको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरे पनि रकम अभावका कारण पूरा गर्न सकेनन् । अधुरो रहेको उक्त रंगशाला हाल सरकारले नै पूरा गर्नेगरी काम अगाडि बढाएको छ ।

रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको मूल्यांकन रिपोर्ट तयार गरेको छ । सो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण/उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्यांकनको काम अगाडि बढाउने घोषणा बजेटमार्फत गरेको थियो । पुल्चोक इन्जिनियरिङ कलेज, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसनका बीचमा २०८२ भदौ १६ गते प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय समझदारी भएको थियो ।

कलेजले दिएको रिपोर्टमा फाउण्डेसन गैरनाफामूलक संस्था भएकाले अन्य कम्पनीले नियमानुसार पाउने १५ प्रतिशत ओभरहेड रकम प्रदान नगरेको जनाएको छ । फाउण्डेसनले कार्यालय सञ्चालन, प्राविधिक तथा गैरप्राविधिक कर्मचारी, कार्यालय सहयोगी साथै चौकीदारसमेतको खर्च गरेकाले ४ प्रतिशत कार्यालय सञ्चालन रकम त्यसमा जोडिएको छ ।

कलेजले तयार गरेको प्रतिवेदनमा फाउण्डेसनले रंगशालाभित्र निर्माण गरिएको नमूना क्रिकेट मैदान, कालोमाटोसहितको ढुवानी २३ लाख ७४ हजार, मैदानमा दुबो रोप्दा लागेको ३९ लाख ३७ हजार ९ सय ४७ रकम त्यसमा जोेडेको छैन ।

यसैगरी रंगशाला भित्र मौज्दात रहेको निर्माण सामग्रीहरु, स्क्राप सामग्रीहरुको रकम २ करोड ४६ लाख २१ हजार कलेजको प्रतिवेदनमा जोडिएको छैन ।

यी रकम बाहेक नै फाउण्डेसनले ५९ करोडभन्दा बढीको भौतिक काम गरेको देखिएको छ ।

धुर्मस–सुन्तली फाउण्डेसनले गत साउन १८ गते महानगरपालिकालाई पत्र लेखेर प्राविधिक मूल्यांकनमा सहजीकरण गरिदिन अनुरोध गरेको थियो । सरकारले फाउण्डेसनका तर्फबाट भएको कामको उधारो रकम तिर्नका लागि चालु आर्थिक वर्षमा १५ करोड रकम विनियोजन गरेको छ । सो रकम कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै महानगरपालिकामा अख्तियारीसमेत आइसकेको छ । तर महानगरपालिकाले रकम दिएको छैन । प्रतिवेदन अध्ययन गर्ने भन्दै अल्झाएर राखिएको छ ।

हो, अहिले धुर्मुस–सुन्तली त्यही उधारो रकम तिर्नका लागि सरकारी मूल्यांकनमै देखिएको बजेट निकासाका लागि धाइरहेका हुन् । रंगशाला बनाउँदा विभिन्न पक्षबाट ल्याइएको सामानको १८ करोड ४३ रकम भुक्तानी दिन बाँकी देखिन्छ । तर, फाउण्डेसनले जम्मा १५ करोड मात्रै भुक्तानी पाउनेछ । ३ करोडभन्दा बढी रकम पाउनुपर्ने प्राविधिक मूल्यांकनमा देखिए पनि सरकारले १५ करोड मात्रै छुट्टाएको छ ।