काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गर्नुभएको छ ।
बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताउनु भयो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गर्नुभयो । आफूहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताउनु भयो । आफूहरुलाई धन्यवाद दिन प्रश्ताव पारित गरे घाउमा मल्हम लाग्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ । होस हवास गुमेको हुनुपर्छ । होस गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रश्ताव पास गर्नुस् । धन्यवाद प्रश्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’
उहाँले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिनुभयो । एकता अभियानप्रति गौरववोध गर्नुपर्ने बताउनु भयो ।










