१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

होली सकिएसँगै मुसहर युवाको पञ्जाव जाने लर्को

होली सकिएसँगै मुसहर युवाको पञ्जाव जाने लर्को
अ अ+ अ-

महोत्तरी । होरी (फागु) पर्व सकिएसँगै महोत्तरीका मुसहर जातिको बसोबास रहेका बस्ती सुनसान बन्दै गएका छन् । यो पर्व सकिएलगत्तै रोजगारीका लागि मुसहर युवा भारतको पञ्जाव जाने लहर सुरु हुने गर्दछ । वर्षेनी यो बस्ती चैत लागेसँगै यसरी सुनसान हुन थाल्दछ ।

चाडपर्व मनाएपछि मुसहर जातिका युवा भारतको पञ्जाव र हरियाणा जानेक्रम पछिल्लो दुई दशकयताको आम चलनजस्तै बनेको छ । मुसहरका युवा धेरै पञ्जाव र अरु केही हरियाणा जाने गरेको पाइएको छ । फागु ९होरी० पर्व सकिएको साता नबित्दै यहाँको बस्तीका किशोर र युवा विदेशिने क्रमसँगै सुनसान देखिएको हो । अबको केही दिनमै यस मुसहर बस्तीमा वृद्धवृद्धा, अशक्त, बालबालिका र महिलामात्र देखिन्छन् ।

मुसहर बस्तीमा होरी सकिएयता प्रत्येक दिनजसो ‘जो रे पञ्जाव, चल रे पञ्जाव’ (जाउ पञ्जाव, हिँड पञ्जाव) भन्ने अभियान नै चल्ने गर्दछ । कृषि कार्यमा निपूर्ण मानिने मुसहर युवा र किशोर यहाँ राम्रो ज्याला पाउन नसकेपछि भारतको पञ्जाव जानु परेको बताउँछन् । मुसहर बस्तीमा पञ्जाव, हरियाणा जान एक/दुई जना तयार हुन थालेपछि घरघरका अभिभावक नै आफ्ना सन्तान त्यहाँ पठाउन उत्साहित हुन्छन् । त्यही लहैलहैमा यहाँका युवा र किशोर पनि हौसिन्छन् र लर्को लागेरै विदेशिन्छन् ।

सामान्यतया प्रत्येक वर्ष फागु पर्व सकिएपछि पञ्जावमा गहुँ थन्क्याउने मौसम शुरु हुने गर्दछ । त्यसैकारण पनि नेपालमा यो पर्व सकिनासाथै मुसहर किशोर र युवाको त्यता जाने लर्को लाग्ने गरेको हो । यो बेला पञ्जावमा राम्रो ज्याला पाइने भएकोले आकर्षण बढेको पञ्जाव जाने तयारीमा रहेका जिल्लाको भङ्गाहा नगरपालिका–४ का २१ वर्षीय जितु सादा बताउनुहुन्छ । उनका अनुसार अहिले नै त्यहाँ गहुँ थन्क्याउने बेला हुन्छ र त्यसपछि सोही गहुँबारीमा अरु खेतीका लागि पनि ठूलो सङ्ख्यामा कामदार चाहिने गर्दछ । उनले त्यहाँ कृषिमा काम गर्ने मजदूरले राम्रो ज्याला पाउने गरेको बताउँछन् ।

धान रोपाइँ गरिने, काट्ने, थन्क्याउने र गहुँबाली थन्क्याउने बेलामा पञ्जावमा कामको चाप हुने भएकाले राम्रो ज्याला पाइने आम मुसहर युवा बताउँछन् । अहिले जिल्लाका मुसहर बस्तीका धेरै युवा र किशोर त्यता गइसकेका छन् भने बाँकी पनि आजभोलि नै हिँड्ने तयारीमा रहेको देखिन्छ । आफ्ना भाई छोरा कामका लागि भारतको पञ्जाव जाने तयारीमा रहेकोले उनीहरुको सम्झनामा मुसहर बस्तीमा हिजो आज भोज पनि दिने प्रचलन छ ।

“एउटा बस्तीका सबै हाम्रा नानी एकैसाथ पञ्जाव जान्छन्, उनीहरु हिँड्ने एक दिनअघि हामी सँगसँगै बसेर भोज खान्छौँ” बलवा नगरपालिकाको भगवतीपुरस्थित मुसहर बस्तीका अगुवा उत्तिम माझी मुसहर भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीवनको के ठेगान छ हजुर, नानीहरु पञ्जाव हिँड्नुअघि सँगै खाना खाने, भोज गर्ने गरेका छौँ ।” यस्तो भोजमा रक्सीसँगै माछा, घोङी (शङ्खे किराजस्तै मुसहरको खास परिकार) को झोल, मुसाको चटनी, सुँगुरको मासु र चिउरासहितका परिकार खास हुने गर्दछ ।

युवा विदेशिन क्रम महोत्तरी जिल्लाका सबैजसो मुसहर जातिको बसोबासका बस्तीमा यही फागु पर्वपछि हुने गर्दछ । जिल्लाको बर्दिवास नगरपालिकाका बर्दिवास मुसहरी, बिजलपुरा, पशुपतिनगर, गौशाला नगरपालिकाका रजखोर र फुलकाहा, भङ्गाहा नगरपालिकाका रामनगर, सकरी, भङ्गाहा , हरिनमरी, सिङ्ग्याही, धर्मपुर, हतिसर्वा, हरखपुर, कर्पुरगञ्ज, टिकुलिया, अजगेवा, औरही नगरपालिकाका चेप्कोट, टिम्किया, भोइल, औरही, खोपी, एकडारा गाउँपालिकाको भटौलिया, लोहारपट्टी नगरपालिकाको डोठारा, लेउरी, पिपराढी र रामगोपालपुर नगरपालिकासहितमा मुसहर जातीको सघन बसोबास रहँदै आएको छ । यी बस्तीका आमाहरुले यतिखेर गह्रौँ मनले आफ्ना भर्खरै १५/१६ टेकेका छोरालाई दुबो अक्षता सगुन दिएर विदाई गरिरहेको दृश्य दिनदिनै देख्न पाइन्छ । उनीहरुले गहभरी आँशु पार्दै पञ्जावको बसाइ राम्रो होस भन्ने कामनासहित बिदा गरिरहेको हरेक घर टोलमा देख्न सकिन्छ ।

सम्पतीको नाममा सानो पराले झुप्रोमात्र भएका यस समुदायका व्यक्तिका किशोर र युवाको वैदेशिक रोजगारको गन्तव्य भनेकै भारतको पञ्जाव, हरियाणा रहेको यस समुदायका बुढापाकाको भनाइ छ । “साहुले ऋण पत्याएका गाउँका अरु समुदायका युवा कमाउन अरब, कतार या अन्य खाडी देशमा जान्छन् तर हाम्रा छोरा भारतमै हो”, सिङ्ग्याहीको मुसहर बस्तीका मदन सादाले भन्नुभयो, “हाम्रा छोरालाई त त्यति टाढा जाने रकम पत्याउने साहु (धनी) नै पाइँदैनन्, त्यसैले पञ्जाव नै जान्छन् ।”

पञ्जाव जान नागरिकता र राहदानी नचाहिने र बढी खर्च नलाग्ने भएकाले मुसहर समुदायका किशोर र युवाको रोजगारीको गन्तव्य बन्ने गरेको छ । “कमाइ ल्यायो, भुटी खायो” आहानको उदाहरण यहाँको मुसहर समुदाय बन्ने गरेको छ । अहिले पनि नागरिकता बनाउने, पढ्नु पर्ने र सामाजिक तथा राजनीतिक गतिबिधिमा सरिक हुने मालिक ९मुसहर गाउँका उपल्लो जात भनिनेलाई अरु जाती समुदायलाई मालिकको सम्बोधन गर्छन्० हरुको काम भएको धारणा मुसहरमा पाइन्छ । एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा तथा यहाँका एक सामाजिक कार्यकर्ता समेत रहेका प्रवीण कर्ण पनि राजनीति गर्ने तथा अन्य सामाजिक गतिविधिमा सलग्न हुने काम मालिकको हो भन्नुहुन्छ । तर विडम्बना के छ भने जिल्लाको कृषिकर्ममा मजदूरको अभाव भएको भन्दै यहाँको खेतबारी बाँझै रहने गरेको छ । तर यता यहीँकै स्थानीय युवा जो कृषि कार्यमा दक्ष मानिएका छन् उनीहरु भने यसरी विदेशिने गरेका छन् । स्थानीय बुद्धिजीवी भन्छन्– यता खेतीको काममा मजदूर नपाएर बाँझो रहने गरेको छ तर कृषि मजदूरीकै लागि युवा पञ्जाव जाने जस्तो उद्येकलाग्दो काम भएको छ । यहाँको कृषि जनशक्ति यहीँ लगाउन सरकारले नै अग्रसरता देखाउनुपर्ने उनीहरुको सुझाव छ । बर्दिवास बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरी भन्नुहुुन्छ, “यहाँका खेतबारी जनशक्तिको अभावमा बाँझै रहने तर यहीँका युवा त्यही कृषिकर्मको रोजगारीका लागि विदेशिने अवस्थाको निराकरण गर्न अब राज्यस्तरबाटै योजना अघि सार्नुपर्छ ।”

यो समुदायमा खासै सम्पत्ति कमाउने र सञ्चित गर्ने प्रचलन छैन । त्यसैकारण पनि यतिखेरको मुसहर समुदायको पञ्जाव पलायन पनि गुजारासँगमात्र जोडिने गरेको छ । आफ्नो गाउँघर वरपर नै उचित बनी ९पारिश्रमिक० पाए कलकलाउँदो उमेरको छोरालाई पञ्जाव पठाउनु नपर्ने कुरा आफ्ना लागि मीठो कल्पना हुने गरेको मुसहर बस्तीका आमा बताउँछन् । “केकरा ललसा नई, जे परिवारिक सब गोटे दुःखसुख बाँइटसँग साथ रही” (परिवारका सबै सदस्य एकसाथ दुःखसुख बाँडेर बसौँ भन्ने त कसलाई लाग्दैन र ?) अब भोलिपर्सी नै छोरो बुदना सादालाई पञ्जाव पठाउने तयारीमा रहेकी अजगेवाकी फुलोवती सादाले भन्नुभयो, “परिवारको पालन र गुजाराकै लागि छोरा पञ्जाव पठाउनुको विकल्प छैन, अब एक/दुई दिनमा उसलाई बिदाइ गर्न मेरो मन तयार हुनुपर्छ ।”

जिल्लाका मुसहर बस्तीबाट केही किशोर र युवा दशैँ, तिहार र छठ सकिएलगत्तै पञ्जाव गइसकेका छन् । होलीका लागि पर्खेका किशोर र युवा अब धमाधम पञ्जाव गइरहेका छन् । सम्पत्ति आर्जन गर्ने र सञ्चित गर्ने कुनै रहर नपालेका मुसहर समुदायका लागि छोरो पञ्जावबाट फर्किएको दिन ठूलो भोज गर्ने अवसर हुने गरेको छ । त्यस दिन आफन्तसहित मुसाको चटनी, घोङीको झोलसँगै घरैया दारु (घरेलु मदिरा) खाएर एकछिन नाचगान गरेपछि छोरो पञ्जाव गएको सार्थक ठानिने मुसहर समुदायको आम धारणा पाइने गरेको छ । “अरु गाउँका मालिकले अरु चाडपर्व मनाउँछन्”, सकरीको मुसहर बस्तीका अगुवा रेबिया सादाले भन्नुभयो, “हामी चाहिँ छोरो पञ्जावबाट फर्केपछि भोजभतेरसमेत गरेर जलसा (उत्सव) मनाउछौँ ।”

मुसहरलाई आफ्नो गरिबी र पछौटेपनप्रति सरकार, राजनीतिक दल वा राज्यका अन्य कुनै निकायप्रति पनि कुनै गुनासो छैन । मुसहर समुदाय आफुलाई भगवान्ले नै ठूलाबडाको सेवाका लागि खटन गरी बनाएको विश्वास गर्छन् । कुपोषण र खानाको कमीले ५० वर्ष नपुग्दै मृत्युको मुखमा पुग्ने मुसहर मुलुकमा जातीय उत्पीडन र पछौटेपनबाट मुक्तिका लागि भइरहेका जातीय र क्षेत्रीय आन्दोलनबाट बेखबरजस्तै देखिन्छन् । यो समुदायका नानीको विद्यालय पहुँच छैन । जिल्लामा अहिले करिब पाँच हजार जनसङ्ख्या रहेको यस समुदायबाट अहिलेसम्म एसएलसी उत्तीर्ण गर्नेको सङ्ख्या अझै १५ ननाघेको जिल्ला शिक्षा समन्वय इकाइ मोत्तरी बताउँछ ।

कृषि कार्यका लागि दक्ष जनशक्तिका रुपमा रहेको मुसहर समुदायका युवालाई पञ्जाव पलायन हुनबाट रोक्न राज्य र सङ्घ संस्थाबाट पहलकदमी हुनुपर्ने देखिन्छ । यो कृषि मजदूरको जनशक्तिलाई रोक्न नसके मजदूरकै अभावमा जिल्लाका उर्वर जग्गा बाँझो रहनेक्रम बढ्दै जाने जिल्लाकै भङ्गाहाको सीतापुरका बासिन्दा रामबहादुर भुजेलको भनाइ छ । नेपाल सरकारको कृषि सेवाको सहसचिव पदबाट अवकाश लिनुभएका कृषि विज्ञ भुजेलले यसका लागि जिल्लामा सरकारले विशेष कार्यक्रम ल्याएर यहाँको जनशक्तिलाई यहीँ नै कृषि कर्ममा लगाउनुपर्ने सुझाव दिनुहुन्छ ।