१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी को हो ? को होइन ?



अ+ अ-

काठमाडौं ।  यतिखेर मुलुकमा जेनजी शब्द खुब चर्चित छ । उमेर समूह अनुसार लिइने यो शब्दको नाम गत भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसले गरेको सत्ताको उलटपुलटपछि बढी चर्चामा आएको हो ।

मुलुकको सत्ता परिवर्तनका लागि जेनजीको आन्दोलन नै कारक रहेको भन्दै वर्तमान सरकारले उनीहरुलाई सरकारमा पनि सहभागी गराएको छ र सरकारले गर्ने आवश्यक छलफल तथा निर्णय आदिमा पनि उनीहरुलाई सहभागी गराउने गरेको छ ।

तर जेनजी को हुन् र को होइनन् भन्ने बारेको पहिचान भने अझै पनि हुन सकिरहेको छैन । त्यो आन्दोलनका अगुवा को हुन् र को होइनन् भन्ने पनि स्पष्ट छैन । अनि आगजनी, तोडफोड आदिबाट मुलुकमा विध्वसं मच्चाउने को हुन् या कसको आदेश निर्देशनमा त्यसो गरेका हुन् भन्ने पनि अहिले स्पष्ट छैन । तर पनि जेनजी शब्द भने अहिले पनि चर्चामै छ ।

आज राजधानीमा आयोजना भएको एक कार्यक्रमको प्रसंग यहाँ कोट्याउन खोजिएको छ । सो कार्यक्रम नेपाल कानुन समाजले आयोजना गरेको थियो र विषय थियो आगामी निर्वाचनका अवसर र चुनौती । सो कार्यक्रममा जेनजीको सहभागिता गराइएको थियो ।

कार्यक्रमका वक्ताहरु थिए पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, पूर्व सांसद तथा मन्त्रीहरु एवं वर्तमान मन्त्री समेत । सो कार्यक्रममा सहभागी भएका जेनजीहरुमध्ये दुई जना मञ्चमै राखिएको थियो, मिराज ढुंगाना र भावना राउत

अनि तल अर्थात् श्रोताका रुपमा सहभागी थिए लेनिन विष्ट, विभु पहारी आदि । मञ्चका दुई जना त आफूले आफ्ना भनाई राखेर हिँडे । उनीहरु सो कार्यक्रममा सहभागी रहेका विशिष्ठ व्यक्तित्वहरुको अनुभव र कुराकानी सुन्नै चाहेनन् । त्यहाँ संविधान, सरकार, आसन्न निर्वाचन र यसको सफलताका लागि आवश्यक कुराहरुका बारेमा व्यापक विचार विमर्श भइरहेको थियो ।

मञ्चका दुवै जनाले भाषण पनि गरे । सो भाषणमा मिराजले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने माग गरे भने राउतले यस्तो एजेण्डा जेनजी आन्दोलनको हुँदै नभएको जिकिर गरिन् । उनीहरुका बीचमा नै एजेण्डामा सहमति हुन सकिरहेको थिएन ।

उनीहरु दुवै जनाका आआफ्ना तर्क सुन्दा हासिरहेका थिए दर्शक दीर्घमा सहभागी पाहुनाहरु । त्यसपछि उनीहरुपछि बोल्न बाँकी धेरै विशिष्ट पाहुनाहरु थिए तर आफ्ना भनाई राखिसकेर उनीहरु हिँडेपछि पनि उपस्थित सबै हासेका थिए ।

त्यसपछि प्रमुख अतिथिका रुपमा बोल्न बाँकी थिए पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ । उनको भाषणभन्दा अघि सबैलाई प्रश्न राख्ने अवसर दिइयो र पुनः तल बसेका जेनजीहरु लेनिन विष्ट र पहारी लगायतले बोल्ने थाले । उनीहरुले अरु भन्दा पनि अघि किन दुई जनालाई मञ्चमा राखेको भनेर प्रश्न गर्न थाले ।

उनीहरुले आयोजकहरुलाई नै चुनौती दिँदै पहिला आन्दोलनमा सहभागी भएका जेनजीलाई चिन्नुहोस् र बल्ल यस्ता कार्यक्रमहरुमा सम्बोधन गर्नुहोस् भन्ने प्रश्न गरे । उनीहरु मिराज र भावनालाई आन्दोलनमा पनि सहभागी नभएका नक्कली जेनजी सम्म भन्न भ्याएका थिए ।

त्यसपछि भने दर्शक दीर्घामा रहेका सहभागीहरुले जेनजी को हुन् र को होइनन् भन्ने विषयको पहिचानकै लागि एक आयोग गठन गर्नुपर्ने तर्क गरेका थिए । उनीहरु आन्दोलन यिनै जेनजीले गरे र सत्तापलट पनि गरे । तर आज जेनजी को हुन् भन्ने बारेमा राष्ट्र नै दुविधामा रहेको बताएाक थिए ।