काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ नेतृत्वमा आज नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी भएको छ । घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीलाई नै आफ्नो बनाएर अघि बढ्ने निर्णय भएको हो ।
‘उज्यालो नेपाल’ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गत २७ साउनमा निवेदन परेको थियो । पार्टीको चुनाव चिह्न ‘बलिरहेको बिजुलीको चिम’ प्रस्तावित छ । ज्ञानबहादुर तामाङले यो पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उक्त दल दर्ताको प्रक्रियामै छ ।
घिसिङ पक्षले आज आवश्यक कागजात पुर्याएर दर्ता अगाडि बढाउने तयारी गरेको हो ।
अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङ भने यो पार्टीको कार्यकारी भूमिकामा हुने छैनन् । पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गर्ने तयारी छ ।
पार्टीमा घिसिङको प्रत्यक्ष भूमिका नरहने बताइएको छ । पार्टीले एक व्यक्ति र एक पदको सिद्धान्त फलो गर्ने भएकाले अहिले उहाँलाई जिम्मेवारी नदिइएको हो । मन्त्री हुँदा पार्टीको जिम्मेवारी नलिने, सरकार छोडेपछि उहाँ नै अध्यक्ष हुने सहमति भएको छ ।
यो पार्टीमा जेन–जी आन्दोलनका अगुवा ‘हामी नेपाल’ का सुदन गुरुङसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पनि साथ रहने बताइएको छ ।
अहिले पार्टी दर्ता प्रक्रियामा मेयर शाह प्रत्यक्ष सम्पर्क नभए पनि उहाँको टिम रहेको छ । सदन गुरुङले घोषणा गरेका सात वटै प्रदेशका जेन–जी संयोजक पनि यही समूहमा छन् ।
तर सअघि रास्वपाकी नेतृ रहेकी सुमना श्रेष्ठ भने तत्कालका लागि यो समूहबाट बाहिरिनुभएको छ । अन्तिम अवस्थामा घिसिङले उज्यालो नेपाल पार्टीलाई नै अगाडि बढाउने र पूर्वसचिव उपाध्यायलाई नै तत्कालका लागि संयोजक बनाउने निर्णय गरेपछि श्रेष्ठले छुट्टै अगाडि बढ्ने निर्णय गरेकी छन् ।
श्रेष्ठ ‘उज्यालो नेपाल पार्टी’ नाममा सहमत थिइनन् । उनले ‘जनसेवा पार्टी’ दर्ता गर्नुपर्ने बताएकी थिइन् । यस्तै श्रेष्ठले नयाँ पार्टी गठन गरेपछि घिसिङले मन्त्रीबाट राजीनामा गरेर संगठन निर्माणमा लाग्नुपर्ने प्रस्ताव गरेकी थिइन् । त्यस्तै, घिसिङले नेतृत्व नलिने भए जेन–जी अगुवा वा जेन–जी आन्दोलनका सहिद वा घाइतेलाई अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव श्रेष्ठले राखेकी थिइन् । जसलाई घिसिङ पक्षले अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक पर्ने हस्ताक्षरसहितका कागजातसहित विधानमा आवश्यक परिमार्जन गरेर जाने तयारीमा घिसिङ पक्ष छ । सरकारमा जाँदा पार्टीमा रहेको पद छोड्नुपर्ने व्यवस्था विधानमा गरिने भएको छ । उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय समिति आयोगमा दर्ता गर्न लागिएको हो, जसमा गुरुङ पक्षका जेन–जी नेताहरू पनि हुनेछन् ।










